यसरी बचाएँ ४ जनाको ज्यान
खलंगा (जाजरकोट), भाद्र ५ - बाढीले ०५१ सालमा धेरै घरखेत बगाएको सकलास्थित सेपुखोलामा मेरो बास छ। २६ वर्षदेखि जिल्ला पशु सेवा कार्यालयमा कार्यरत रहेर हाल बारेकोट भेगका ५ गाविसका पशु उपचारमा संलग्न छु।
कार्यालय सेपुखोला बजारमा छ। म पशुवस्तुको उपचार गर्न जतिबेला पनि जुन गाउँ बोलाए पनि जाने भएकाले बारेकोट भेगका सबै बासिन्दाले मलाई अति माया गर्छन्। सम्मान गर्छन्। मैले धेरै पशुबस्तुको ज्यान बचाएको छु।
सेपुखोलाका बासिन्दा धेरै पानी परेमा रातभर सुत्दैनन्। राँको बालेर र टर्चर् बालेर नजिकैका नलसिंहगाड र सेपुखोलाको अवस्था हेर्छन्। म पनि सेवा केन्द्रका सबै कागजात झोलामा हालेर गाउँलेसँगै बारम्बार खोलातिर जाने गर्थें। एक्कासि बारेकोटबाट आउने नलसिंहगाडले ठूलाठूला रूख बगाएर ल्याउन थालेपछि गाउँले मुढा र दाउरा छोप्न थाले भने कतिपयले रातैभरि माछा मारे। मलाई सिरानका बारेकोटका अन्य गाविसमा ठुलै पहिरो गएको अनुमान भयो। रातैभरि सुतिनँ। पानी निकै ठूलो परेको थियो।
बिहानै उठेर सेपुखोलाबाट पुग्न सकिने आधा घन्टाको सबैभन्दा नजिकैको पल्लोगाउँ खिनखिने, सक्लामा पुगें। उक्त गाउँ पुग्न ठूला २ वटा खहरेखोलासमेत कठिनले पार गर्नुपर्यो। गाउँमा रुवाबासी मच्चिएको रहेछ। ठाडो कान्लामुन्तिर समथर भूभागमा रहेको उक्त गाउँ मास्तिरबाट आएको ठूलो पहिरोले डिलबहादुर विकको घर र ७ वटा गाईबस्तु पूरै पुरेछ।
जमिन र छाना एउटै सतहमा थियो। घर पुरै पहिरोले पुरेको र काठमुनि यौटा हात देखेपछि तत्काल कराएर नजिकैै घरका धु्रव विकको सहयोगमा काठ पन्छाउन थालें। माटोले शरीर पुरेका तर शिर काठमुनि खुला अवस्थामा रहेकाले हावा पसेर डिलबहादर बेहोस मात्रै रहेछन्। डिलबहादुरका अन्य ३ छोराछोरी भत्केकै घरमा फसेका थिए। थप ४ जना गाउँलेलाई बोलाएर दारकाठ हटाउने क्रममा दार खसेर मेरै खुट्टा काट्यो।
भास्सिएको घरको तल्लो तलामा केही कराएको सुन्यौं। मोबाइलको टर्च बालेर पुग्दा ३ जना केटी सानो रित्तो कोठामा खसेका काठमा चेपिएर बसेका रहेछन्। काठले माटोबाट जोगाएको रहेछ। पुरिएको घरभित्र निसास्सिने अवस्था थियो। तीनै जनालाई एकै अँगालोमा हैरान भएर दुख्ने खुट्टाको पर्वाह नगरी आधा घन्टामा माथि उकाल्न सफल भएँ। तिनै बालककी आमा रूपा विश्वकर्माको २०६६ सालको झाडापखालामा मृत्यु भएको रहेछ। डिलबहादुरको घर र सबै जग्गा पहिरोले लिएपछि उनले सर्वस्व गुमाएका छन्। डिलबहादुरको परिवारलाई घरबाट निकाले लगत्तै वडा ३ बन्डालामा घर पुरिएर २ जनाको मृत्यु भएको खबर सुनें। फेरि उतै लागें। खानाको चिन्ता भएन। बन्डालामा पुगेर घरले पुरिएका मृत शरीर र जिउँदै गाई जोगाउन सफल भइयो। इकान्तिपुरबाट साभार
(हरिहरसिंह राठौरले उद्धारमा संलग्न गोविन्द सिंहसँग गरेको कुराकानीमा आधारित)

