पूर्वराजा ज्ञानेन्द्र अाज दिल्ली जाँदै

२१ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार अपरान्ह दिल्ली जाँदैछन् । उनी साताव्यापी भारत भ्रमणको सिलसिलामा दिल्ली जान लागेका हुन् । पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकका अनुसार यो नितान्त व्यक्तिगत  भ्रमण हो । ज्ञानेन्द्र अपरान्ह ४ बजे इण्डियन एयरलाइन्सबाट दिल्ली जाने कार्यक्रम छ ।

 व्यक्तिगत भ्रमण भनिए पनि पूर्वराजाले साथमा पूर्वरानी कोमललाई समेत नलिई एक्लै भारत जाने निश्चय गरेका छन् । भ्रमणको कार्यसूची गोप्य राखिएको छ । पूर्वराजा भारत जानासाथ यसलाई अनेकन आशंकाले हेर्ने गरिन्छ । उनले भारतमा त्यहाँका राजनीतिज्ञहरुलाई पनि भेट्ने अनुमान लगाउने गरिन्छ ।


सार्क सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका बेला पूर्वराजाको दिल्ली भ्रमणलाई यस्तै रहस्यमय रुपमा हेरिएको छ । पूर्वराजाको भ्रमणको उद्देश्य राजनीतिक पनि हुन सक्ने अनुमान गरिएको छ । हृदयाघातबाट केही साताघि अस्पताल भर्ना भई निको भएका पूर्वराजा ज्ञानेन्द्र स्वास्थोपचारका लागि दिल्ली जान लागेका त होइनन् ? यो प्रश्नमा पनि पूर्वराजपरिवार स्रोतले केही बताएको छैन । पूर्व युवराज पारस शाह बैंकका मुद्दा मामिलामा फसेका बेला पूर्वराजाको भारत भ्रमण हुन लागेको छ ।

त्यसो त दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रका पारिवारिक नातेदार र मित्रजनहरु पनि छन् । उनीहरुको निम्तो मान्न र विबाह बटुलोमा समेत विगतमा उनी भारत जाने गरेका छन् । पूर्वराजाका कतिपय व्यापारिक पार्टनरहरु पनि भारतमा छन् ।  Online Khabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस