स्वास्थ्य सेवाका दिने नाममा ठगी
काठमाडौं : झापाको चारआलीस्थित मनकामना अस्पतालमा कार्यरत दिलिपकुमार यादवले मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ परीक्षा पास गर्न नसक्दा चिकित्सा पेसा गर्ने अनुमतिपत्र पाएका छैनन्। तर उनले त्यही निकायको आँखा छल्दै बिरामी जाँच्ने र प्रसूति गराउनेजस्तो संवेदनशील सेवा दिइरहेका छन्। असुरक्षित प्रसूति गराउँदा बुधबारेकी १७ वर्षीया कविता लुहागनको मृत्यु भएको आरोपसमेत उनीमाथि छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गराउँदा काठमाडौं बालुवाटारका ३६ वर्षीय रामकृष्णमा हच्किङ्स लिम्फोमा (गम्भीर प्रकृतिको क्यान्सर) देखियो। एक महिनाअघि घरनजिकैको क्वाड्रा डाइग्नोस्टिक सेन्टरमा जाँच गराएको रिपोर्टमा उनको स्वास्थ्य सामान्य भेटियो। रिपोर्टमा शिक्षण अस्पतालकै एक प्याथोलोजिस्ट विशेषज्ञको हस्ताक्षर थियो। खोजी गर्दा हस्ताक्षर नक्कली पाइयो। रामकृष्णले मेडिकल काउन्सिलमा उजुरी दिएपछि छानबिन अगाडि बढाइएको छ।
सडक दुर्घटनामा घाइते चितवन कृष्णपुर ७ का ५७ वर्षीय केदारनाथ पौडेललाई भरतपुरको मनकामना अस्पताल पुर्याइयो। सिटिस्क्यान गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको पाइयो। फेरि दोस्रोपटक गरिएको सिटिस्क्यान रिपोर्टले उनको स्वास्थ्य सामान्य देखायो। केही दिनपछि उनको ज्यानै गयो। अनुसन्धानबाट सिटिस्क्यान चितवनमा गरिए पनि त्यसमा हस्ताक्षर काठमाडौंमा बसेर एक रेडियोलोजिस्टले टेलिमेडिसिनको माध्यमबाट गरेको खुल्न आयो। नेपाल मेडिकल काउन्सिलले एक महिनायता छापामार्दा पाइएका प्रतिनिधि उदाहारणमात्र हुन् यी।
काउन्सिलले एक वर्षका लागि इन्टर्नसिप गर्न थमाएको प्रमाणपत्र देखाउँदै यादवलले बिरामी जाँच्नु कानुनको उल्लंघन भएको चिकित्सा विषयका प्राध्यापक रमेशकान्त अधिकारी बताउँछन्। यसले आवश्यक योग्यताबिना उपचार गर्दा बिरामीमा पर्ने नकारात्मक असरको जिम्मा कसले लिने भन्ने प्रश्न उब्जाएको छ।
दोस्रो घटनामा आफ्नो सेवा कमजोर भएपछि बिरामीलाई विश्वास दिलाउन प्याथोलोजिस्ट वा रेडियोलोजिस्ट नभएको स्थानबाट पनि किर्ते हस्ताक्षर गरी रिपोर्ट दिइएको देखिन्छ।
तेस्रो घटनामा सिटिस्क्यानको रिपोर्टिङ गर्दा लापरबाही भएको पाइन्छ भने दुईवटा मेडिकल कलेज र २५ भन्दा बढी निजी अस्पताल रहेको चितवनमा व्यापारिक फाइदाका लागि टेलिमिडिसनको दुरु पयोग गरेको पाइन्छ। काउन्सिलका एक चिकित्सकले भने, 'विशेषज्ञ चिकित्सक र प्रविधि पुग्न नसक्दा दुर्गमका बिरामीले दिनहुँ सास्ती खेप्नुपर्छ तर जहाँ सबै सेवा छन्, त्यहाँ फाइदाका लागि टेलिमेडिसिन प्रयोग गरी बिरामीलाई ठगिएको छ।'
नभएको सेवाबारे झूटो प्रचारप्रसार गर्ने, सुन्दै नसुनेको रोगको उपचार गराइदिन्छौं भन्दै बिरामीको भीड लगाउने, अयोग्यलाई स्वास्थ्य जाँच गर्न लगाउने, विशेषज्ञ चिकित्सकको नाम बोर्डमा राखेर अहेवलाई स्वास्थ्य जाँच गर्न लगाउने, परीक्षणपिच्छे महँगो शुल्क लिने, नाम चलेका चिकित्सकको किर्ते हस्ताक्षर गरी लोकप्रिय बन्ने, पैसाका लागि जस्तोसुकै रिपोर्ट पनि बनाएर दिनेजस्ता ठगी धन्दा स्वास्थ्य क्षेत्रमा बाक्लै पाइएको पनि यी घटनाबाट स्पष्ट हुन्छ। सहरमा मात्र होइन, गाउँमा समेत यस्ता विकृति बढ्दैछन्।
अधिकारीले काउन्सिलको फितलो अनुगमन र कारबाहीको फाइदा उठाएर स्वास्थ्य सेवाका नाममा बिरामीलाई ठग्ने काम बढेको बताए। यसैकारण बिरामीको सुरक्षाको अधिकारसमेत संकटमा पर्दै गएको उनको भनाइ छ। 'स्तरीय सेवा भन्दै बिरामीको पैसा ठग्नेलाई कारबाही गर्ने अधिकार काउन्सिललाई पनि छ तर कार्यान्वयन शून्य छ', उनले भने, 'चिकित्सक आचारसंहिता उल्लंघनका गम्भीर घटनामाथि त छानबिन नै भएको छैन।'
काठमाडौं हल्चोकस्थित चीन नेपाल मैत्री चिनियाँ उपचार केन्द्र अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ। केन्द्रमा कार्यरत चीनका ख्यातीप्राप्त डाक्टर भनिएका एक चिनियाँको नेपालमा चिकित्सा पेसा गर्न काउन्सिबाट लिएको अनुमतिपत्र पनि छैन। उनको राहदानी पनि छैन। नेपालमा स्वास्थ्य व्यवसायी परिषद्मा उक्त केन्द्र दर्ता पनि छैन। दुई महिनाअघि काउन्सिलले छापामारेर केन्द्रका सञ्चालकलाई उपस्थित हुन निर्देशन दिएको थियो। त्यतिबेला आफूलाई सरकारी कार्यालयको सहसचिव बताउने गोपाल कोइरालाले अस्पताल बन्द गर्न कसैले नसक्ने भन्दै काउन्सिलका पदाधिकारीलाई धम्की दिएका थिए।
सरकारको आँखा छल्दै उनले पहिलेको स्थानबाट केही पर उक्त केन्द्र सारेर बिरामीको जाँच गर्न लगाएका छन्। केन्द्रमा उपचार गराउन जाने बिरामीबाट विभिन्न नाममा पैसा लिइन्छ तर त्यहाँ एउटा स्लाइन, इन्जेक्सन र सियोबाट अकुपन्चर गर्नेबाहेक अरू सुविधा छैन। केन्द्रलाई सरकारले कारबाही गर्न सकेको छैन।
चाबहिलस्थित नेपाल भारत मैत्री अस्पतालले पनिम्म्याक्स अस्पतालसँको सहकार्य भन्दै पटकपटक पत्रपत्रिकामा विज्ञापन दिएर बिनाअनुमति भारतीय चिकित्सक ल्याएर बिरामीको जाँच गरिरहेको पाइएको छ। बिरामीको स्वास्थ्य जाँचमात्र होइन, धमाधम बिरामी म्याक्स अस्पतालमा रिफरसमेत गर्ने गरेको पाइएको छ।
'अनुगमनपछि कारबाही गर्न जाँदा राजनीतिक हस्तक्षेप हुन्छ। गुन्डा लगाएर पिट्ने धम्की आउँछ', काउसिन्लका एक अधिकारीले भने, 'अनि हामी कसरी कारबाही गर्न सक्छौं? यस्तो काममा सरकार नै गम्भीर भएर लाग्नुपर्छ।'
नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झा दण्डहीनताले प्रश्रय पाउँदा स्वास्थ्यमा पनि विकृति र ठगी धन्दा बढेको बताउँछन्। उनले भने, 'ठगी नियन्त्रणका लागि मेडिकल काउन्सिलसँगै स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले अनुगमन तीव्र बनाउनुपर्छ।'
काउन्सिलका व्यावसायिक आचरण समितिका अध्यक्ष डा. सतीश देवले चिकित्सा क्षेत्रमा देखिएका सबैखाले विकृति अन्त्य गर्न कानुनले नै साथ नदिएको बताए। 'पछिल्लो समय स्वास्थ्यमा अनेक किसिमका घटना भएका छन्। ती घटनाका दोषीलाई कस्तो कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा समस्या परिरहेको छ', उनले भने, 'यसका लागि हामी आचारसंहिता सम्बोधन गर्ने तयारीमा जुटेका छौं।'
उपभोक्ता आफैं पनि सचेत नभएकाले स्वास्थ्यमा ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ बताउँछन्। अाजको अन्नपर्ण पोस्टमा छापिएको समाचार छ ।

