इजरायलमा ५ हजार नेपालीलाई कृषि तालिम र रोजगारी दिने राजदूतको घोषणा

देश विकासका लागि कृषि विकास आवश्यकः राजदूत मेयर

काठमाडौं  १५ भदौ। नेपालीहरुको रोजगारको भरपर्दो गन्तव्य बन्दै आएको इजरायलले नेपाली युवाहरुका लागि अर्को भरपर्दो अवसर प्रदान गर्ने भएको छ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत यारोन मेयरले ५ हजार नेपालीलाई इजरायलमा कृषि तालिम एवं रोजगारी प्रदान गरिने बताएका छन् ।

इजरायलले पाँच हजार नेपालीलाई कृषि तालिम दिने यारोनले बताएका छन् । तालिमसँगै प्रशिक्षार्थीले एक लाख रुपैयाँभन्दा बढी मासिक पारिश्रमिकसमेत पाउनेछन् । इजरायलले साना किसान विकास बैंकसँगको सहकार्यमा यस्तो प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।


जारी कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत १० महिने कृषि तालिम कार्यक्रममा सहभागी गराउन नेपाली युवालाई इजरायल लैजान लागिएको हो । गत वर्ष २ सय ५ जनालाई तालिम दिन इजरायल लगिएको थियो ।
यस वर्ष प्रशिक्षार्थीको संख्या बढाएर ५ हजार १५ जनालाई लैजान लागिएको राजदूत मेयरले जानकारी दिए । उनले देशका विकासका लागि कृषिमा विकास गर्नुपर्ने उनले बताए ।

आˆनो कार्यभार सम्हाल्न यसैसाता काठमाडौं आइपुगेका मेयरले कृषि विकासको प्रचुर सम्भावनायुक्त नेपालले युवा कृषकहरूबाट उत्पादन र उत्पादकत्वमा व्यापक वृद्धि गर्न सक्ने सम्भावना औंल्याएका छन् ।
विगतमा कृषि प्रशिक्षार्थीका रूपमा इजरायल गएका नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेको कामप्रतिको समर्पण, मेहनत र कौशलताका कारण आफ्नो देशको सरकारले नेपाली प्रशिक्षार्थीेका लागि यो वर्ष तालिम कोटामा बढाएको उनले जानकारी दिए ।

इजरायल नेपाली महिला कामदारहरुका लागि राम्रो गन्तव्य मानिन्छ । महिलाहरु घरेलु काममा जाने गरेका छन् भने अत्याधुनिक खेती प्रणाली अपनाउँदै आएको इजरायलको कृषि फार्ममा नेपाली पुरुष कामदारहरु जाने क्रम बढेको छ ।

नेपाल सरकारले कोरियामा जस्तै इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने व्यवस्था गर्ने बताइरहेका बेला इजरायली राजदूतले नेपाली युवालाई कृषि तालिम दिने बताएका हुन् ।
यसैबीच, राष्ट्रपति डा. रामवरण यादवसमक्ष नवनियुक्त राजदूत मेयरले आउँदो बिहीबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपालस्थित इजरायली राजदूतावासले जनाएको छ ।अनलाइन खबरमा प्रकाशित खबर छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस