काठमाडौं, साउन १३ – साउन १८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल र भारतका सुरक्षा निकाय तयारीमा जुटेका छन् । सुरक्षाको तयारीका लागि भारतीय एसपीजी दास्ता चार दिन पहिलेदेखि नेपालमा आएर काम गरिरहेका छन् भने नेपालका तीनै सुरक्षा अंग आ–आफ्ना तयारीमा जुटेका छन् । प्रधानमन्त्री मोदीको सुरक्षामा कुनै कमी नहोस् भनेर यहाँको गृह मन्त्रालय, रक्षा मन्त्रालय, विदेश मन्त्रालय र भारतीय दूतावास दिनरात एक भई लागि परेका छन् ।
नेपाल सरकारले मोदीको सुरक्षा व्यवस्थाको जिम्मेवारी नेपालीको विशेष सुरक्षा बल (स्पेशनल प्रोटेक्सन फोर्स) एसपीएफलाई दिएको छ । भारतबाट आएका एसपीजी सुरक्षादस्ताले नेपाली सेनाका एसपीएफसँग मिलेर सुरक्षाको तयारीमा जुटेका छन् । नेपाल सरकारले नेपाली सेनाको विशेष सुरक्षा बल, सशस्त्र प्रहरी बल, र नेपाल प्रहरीको कमाण्डो दस्ता मिलाएर मोदीको सुरक्षाका लागि एक यूनिफाइड कमाण्ड बनाएको छ । भारतीय दुतावास स्रोतका अनुसार प्रधानमन्त्री मोदीको सुरक्षाका लागि चार घेरा बनाएको छ ।
एसपीजीद्वारा बनाएको फोर लेयर सेक्युरेटी प्लानको अनुसार प्रधानमन्त्री मोदीको वरिपरी अर्थात् इनर सर्करको सुरक्षा घेरा भारतीय एसपीजीले आफैसँग राखेका छन् । त्यसपछि मात्र अत्याधुनिक हतियारसहित सादा पोसाकमा नेपाली सेनाको विशेष सुरक्षा दस्ताको घेरा हुन्छ । त्यसपछि तेस्रो घेरा सशस्त्र प्रहरी बलको विशेष प्रशिक्षित सार्प सुटरलाई राखिएको छ । चौथो तथा अन्तिम घेरा नेपाल प्रहरीलाई राखिएको छ । प्रधानमन्त्री मोदीको आगमनदेखि र फर्किनेसम्मको सुरक्षा व्यवस्था कडा पार्न भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीहरु छलफलमा जुटेका छन् । भारतीय प्रधानमन्त्री मोदीको विशेष विमान अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुको आधाघण्टाअघि र पछि कुनै विमान अवतरण वा उड्ने छैन । नेपाल वायु सेवा निगमका अनुसार ३ अगस्त बिहान १०.३० बजेदेखि ११.३० बजेसम्म र त्यसको भोलीपल्ट साँझ ४.३० बजेदेखि ५.३० बजेसम्म सबै घरेलु र अन्तराष्ट्रिय विमानलाई उडान र अवतरणलाई रोक्ने जानकारी दिएको छ ।
त्यस्तै जुन जुनबाटो बाट मोदी जाने छन् त्यहि बाटो ट्राफिक पनि आधाघण्टाका लागि रोकिने छ । विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनाको विशेष दस्ताले लिएका छन् । जबसम्म मोदीको विशेष विमान काठमाण्डौं विमानस्थलमा रहिहन्छ त्यसको सुरक्षा एसपीजीलगायत नेपाली सेनाले पनि गर्नेछ । गृहमन्त्रालय स्रोतका अुनसार मोदी जाने बाटोमा रहेका ठूला भवनको छतमाथि सशस्त्र प्रहरी बलको सार्प सुटरलाई तैनाथ गरिनेछ ।
मोदी हिड्ने साँघुरो बाटोको पसलहरुलाई पनि बन्द गराउने सुरक्षा योजनामा रहेको छ । मोदी बस्ने ह्यात होटललाई अगस्त एक तारिखदेखि नै भारतीय एसपीजीले आफ्नो नियन्त्रणमा लिनुको साथै मोदी बस्ने होटलको तल्लामा एसपीजी सुरक्षा दस्ताबाहेक अरु कसैलाई जाने इजाजत रहने छैन । विमास्थलदेखि ह्यात होटल र होटलदेखि राष्ट्रपति भवन र त्यहाँदेखि संसद भवन र सिहदरवारसम्मको बाटोलाई सिल गरिने छ र त्यहाँ हतियारधारी प्रहरीलाई तैनाथ गरिनेछ । प्रधानमन्त्री मोदीले पशुपतिको दर्शन गर्ने भएकाले त्यहाँको सुरक्षाको जिम्मा पनि भारतीय एसपीजीले लिएका छन् त्यसको पनि तयारी भइरहेको सुरक्षा अधिकारीले जनाएको छ । मोदी आधा घण्टासम्म पुजाआजा गर्ने छन् । त्यतिबेलासम्म कसैलाई पनि त्यस परिसरमा जाने दिने छैन । साथै सुरक्षा व्यवस्थाका लागि भारतबाट ल्याइएको विशेष कुकुरलाई पनि ह्यात होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
रातोपाटी

