काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूले कुनै गुटबन्दी नगर्ने बताएका छन्। उनले आफ्नो कार्यकालमा गुटबन्दीका आधारमा कसैलाई काखापाखा नगर्ने घोषणा गरे।
'म मेरो कार्यकालमा कसैलाई पनि गुटबन्दीका नाममा काखापाखा गर्दिनँ', एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले शुक्रबार राजधानीमा आयोजना गरेको २०७० सालको एसएलसी परीक्षामा झापाको सामुदायिक विद्यालयालयतर्फका उत्कृष्ट विद्यार्थीलाई सम्मान कार्यक्रममा ओलीले भने।
'म सकभर पाँच वर्ष नपुग्दै अध्यक्षबाट बहिर्गमन हुने सोचमा छु, त्यसैले अर्को कार्यकाल अध्यक्ष बन्ने चाहना नभएकाले गुटबन्दी गर्न मलाई जरुरी छैन', उनले भने। ओलीले बाँचुन्जेल पार्टीलाई फराकिलो र गतिशील बनाउन लागिपर्ने भन्दै पदको लोभले जिन्दगीको आँखा चिम्लने पक्षमा आफू नरहेको दाबी गरे।
उनले अरूलाई पदका लागि मरिहत्ते गर्नु हुँदैन भनेर उपदेश दिनेमात्र नभई त्यसको उदाहरण आफैं बन्ने बताए। एमालेमा पार्टीभित्र काम नपाएको ठूलो पंक्ति भएकाले त्यो समूहलाई साथमा लिएर पार्टीलाई नमुना बनाउने पनि उनले दाबी गरे।
नवौं महाधिवेशनका बेला भएका तितामिठा सबै कुरा बिर्सन नेताकार्यकर्तालाई आग्रह गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न आग्रह गरे।
पार्टीभित्र गुटबन्दी गर्दिनँ ओलीको कसम

