तीजमा के चाहन्छन युवतीहरू?
ललितपुर थसिखेलकी समीक्षा न्यौपाने अविवाहित छिन्। उनलाई सानोमा तीज मनाउन खुब रहर लाग्थ्यो। उनी आफ्नी आमाको लहैलहैमा व्रत पनि बस्थिन्। तर, पछि बिहानको १० नबज्दै भोक लागिहाल्ने हुनाले बाबासँगै बसेर खाना खाइहाल्थिन्।
नेसनल कलेजबाट डेभेलपमेन्ट स्टडिजमा स्नातक सकाएकी समीक्षालाई अहिले पनि तीज पर्व एकदमै रमाइलो लाग्छ। तर, उनले आफ्नो रक्तचाप कमी भएका कारण व्रत बस्न भने छाडेकी छन्। यो एक संस्कृति भएकाले यसलाई सम्मान गर्ने बताउने समीक्षा तीजमा व्रत बसेकै कारण राम्रो बर पाउने कुरामा भने विश्वास गर्दिनन्।
उनी भन्छिन्, 'अहिलेको जमानामा त राम्रो पढाइ र करिअरले नै राम्रो श्रीमान् पाइन्छ। त्यसैले पहिले यिनै कुरालाई राम्रो बनाउनेतर्फ लाग्नुपर्छ।' भविष्यमा भने स्वास्थ्यले साथ दिए व्रत बस्ने उनको इच्छा छ।हिन्दू धर्मको मान्यता र चलनअनुसार रजस्वला भएपछि तीजको व्रत बस्नुपर्छ। त्यसैले आफूले पनि १० वर्ष पहिलेदेखि तीजको व्रत बस्दै आएको काठमाडौं रामकोटकी दीपा गोतामे पनि अविवाहित हुन्।
विश्व निकेतन कलेजमा १२ कक्षाको परीक्षा सकाएर बसेकी दीपालाई तीजमा आफन्त बोलाएर दर खुवाउने र खाने चलन असाध्यै रमाइलो लाग्छ। 'सुरुमा ममीले गरेको देखेर देखासिकी गर्न मन लाग्थ्यो र व्रत बस्थेँ', सानै उमेरमा दिनभरि पानी नखाई व्रत बसेको अनुभव सँगालेकी दीपाले अहिले भने बेलुकी पानी खाने गरेकी छन्।
उनलाई व्रत बसेर नै राम्रो श्रीमान् पाइन्छ भन्ने विश्वास नलागे पनि भगवान्प्रति एक किसिमको आस्थाचाहिँ छ। उनी भन्छिन्, 'घरमा सबैले विश्वास गर्ने भएकाले म पनि त्यस्तै गर्छु। दिनभरि भोको बसेर भोलिपल्टमात्रै लसुनप्याज नभएको चोखो खाना खाने चलन हाम्रो घरमा छ।'
भक्तपुरकी सरु खड्का तीजको व्रतमा १२ बजेको आरतीपछि तुलसीको पूजा गरेर पानी पिउँछिन्। उनी आमसञ्चार तथा पत्रकारिता विषयको विद्यार्थी हुन्। बोडे क्याम्पसमा अध्ययनरत उनलाई पनि तीजको व्रत बस्दा राम्रो फल पाइने विश्वास लाग्छ।
घर र आफन्तको घरमा दर खाने गर्छिन् उनी। आफन्त बोलाएर खुवाउँदा पनि उनलाई रमाइलो लाग्छ। आस्थाका कारण नै व्रत बसे पनि व्रत बसेर नै राम्रो श्रीमान् पाउने कुरामा भने उनलाई विश्वास छैन।
संस्कृति र परम्परा अगाडि लैजान र मनोरञ्जनका लागि पनि तीज मनाउने गरेको उनी बताउँछिन्। 'ममी झन् कडा खालको व्रत बस्ने गर्नुहुन्छ तर मचाहिँ त्यसो गर्न सक्दिनँ', उनी भन्छिन्।
समीक्षा, दीपा र सरूले जस्तै अविवाहित युवतीहरूमा पनि तीज मनाउने र व्रत बस्ने लहड चलेको छ। कसैले धार्मिक आस्थाका कारण पनि तीजलाई विशेष रूपमा मनाउने गर्छन् भने कसैले तीजलाई मनोरञ्जनका रूपमा मनाउने गरेका छन्।
त्यसैगरी हिजोआज कतिपय अवस्थामा साथीभाइको लहैलहै र फेसनको रूपमा पनि तीज मनाउने चलन बढ्दो छ। तीजमा विवाहिता महिलाले श्रीमान्को लामो आयुका लागि व्रत बसेझैं अविवाहिताले व्रत बस्दा राम्रो श्रीमान् पाइन्छ भन्ने धार्मिक कथन छ।
यस विषयमा पण्डित कुलप्रसाद पराजुली भन्छन्, 'अविवाहिताले राम्रो श्रीमान्को लागि व्रत बस्नु र विवाहिततले भएका श्रीमान्को स्वास्थ्यको कामना गर्नु राम्रो हुन्छ।'
उनका अनुसार साधना गर्नु नराम्रो होइन र भौतिक कुरा एक दिनका लागि त्यागेर साधना गर्दा केही बेफाइदा हुन्न। सकारात्मक सोचले गरेको काम राम्रो हुन्छ तर यसमा विधि पुर्याउन जान्नुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, 'व्रत बसे पनि शरीर र स्वास्थ्य कस्तो छ, ख्याल गर्नु भनिएको छ शास्त्रमा। रोगी तथा नसक्नेहरूलाई पनि व्रत बस्नु भनेर भनिएको छैन।' अन्नपूर्णपोस्टबाट

