आज तीज पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको भीड
काठमाडौ, भाद्र १२ - हिन्दु महिलाहरूले बिहीबार पशुपतिनाथको मन्दिर लगायत विभिन्न महादेवको मन्दिरमा गई पूजा आराधना गरी तीज पर्व मनाउँदै छन्। यस दिन मुलुकभरका हिन्दु महिलाहरूले आफ्ना पति तथा सन्तानको सुस्वास्थ्य, दीर्घायूको कामना गर्दै व्रत बस्छन्।
सत्ययुगमा पार्वतीले महादेव पति पाउन यो व्रत बसेको धर्मग्रन्थमा उल्लेख भएकाले त्यसैबेलादेखि व्रत बस्न थालिएको बताइन्छ। तीज को अघिल्लो दिन दर खाने चलन छ। पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि ठूलो संख्यमा महिलाहरु लामवद्ध छन् । देशभरको मन्दिरहरुमा महिला भक्तजनहरुको ठूलो भीड छ ।
तीज को तडकभडक घट्यो
काठमाडौं-भक्तपुर सल्लाघारीकी सगुन उप्रेतीलाई विगतमा दरखाने निम्तो मान्न भ्याइनभ्याई हुन्थ्यो। पार्टी प्यालेस, होटल र घरघरमा गरी एकैदिन दुई/तीन ठाउँमा भ्याउनु पथ्र्यो। तर, यसपालि कुनै पार्टी प्यालेसमा दरखाने निम्तो आएन। यसपालि आफन्तको घरमा मात्रै दर खाएको उनले बताइन्। 'दुई वर्षअघिसम्म तीज को दर खान पार्टी प्यालेसमा बोलाउँथे र पैसा बोकेको छ, छैन नसोधी टिकट काट्न बाध्य बनाउँथे,' उनले भनिन्।
उनका अनुसार बाहिर पार्टी प्यालेसमा भन्दा घरैमा चेलीबेटी, आफन्त भेला भएर तीज मनाउँदा बेेग्लै रमाइलो हुने रहेछ। उनलाई विभिन्न संघ/संस्था, आमा
समूहले तीज खान निम्तो गर्थे। 'यसपालि पहिलेको जति निम्तो पनि आएको छैन,' उनले भनिन्।
कोटेश्वरकी मनिता शर्मा पनि यसपालि कतै गइनन्। आफ्नै घरमा सबै चेलीबेटी बोलाएर दर खुवाएको उनी बताउँछिन्। 'कतै नगएपछि तीज को खर्च पनि कम हुने रहेछ,' उनले भनिन्, 'दर खान बोलाएको ठाउँमा उपहार लिएर जानुपर्ने चलनले पनि तीज खर्चालु भएको हो।'
उनका अनुसार विगतका वर्षभन्दा यसपालि तीज को रौनक केही घटेको छ। महिना दिनदेखि हुने नाचगान र भोज कम भएको छ। एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीज मा पार्टी प्यालेसहरूमा भोज नगर्न निर्देशन दिएको थियो। यसपालि पनि गृह मन्त्रालयले आमसञ्चार माध्यममा सूचना प्रकाशन गरी पार्टी प्यालेसमा भोज र तडकभडक नगर्न आग्रह गरेको थियो।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले यसपालि तीज कै साता मात्र चहलपहल देखिएको बताए। 'पहिले महिना दिनअघि देखि नाचगान र भोज हुन्थ्यो,' उनले भने, 'महिना दिनअघि सूचना निकालेर तडकभडक नगर्न आग्रह गरिएको थियो त्यसले पनि केही कम भएको हुन सक्छ।'
'यसको अनुगमन गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको थियो,' उनले भने, 'कसैले तडकभडक गरेको थाहा पाएमा स्थानीय प्रशासन ऐनअनुसार कारबाही गर्ने गरी सूचना प्रकाशित गरिएको छ।'
उनका अनुसार अघिल्ला वर्षमा कमजोर पक्षलाई हीनाताबोध हुने गरी बलियो पक्षले तडकभडक गर्थे।इकान्तिपुर

