मोदीले मधेसी नेतालाई भने - पहाड बिरोधी भावनाबाट माथि उठ्नुस्
१९ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिभिन्न राजनीतिक दलका मधेसी नेताहरुबीच भेटवार्ता भएको छ ।
मोदीलाई भेट्न कांग्रेस र एमाओवादीका मधेसी नेतासहित मधेसवादी दलका नेताहरु होटल हायात पुगेका थिए । तर, मोदीसँगको भेटपछि मधेसवादी दलका नेताहरु केही निराश बनेका छन् ।
भेटमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफूहरुमाथि विभेद भएको भन्दा मोदीले निकै असहज महसुस गरेको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । यद्यपि मोदीले कुनै प्रतिक्रिया दिएनन् ।
कांग्रेस नेता अशरेशकुमार सिंहले संसदमा सम्बोधनका क्रममा ‘मधेस’ को सट्टा ‘तराई’ शब्द प्रयोग गरेको तथा माथिल्लो कणर्ालीसहितका पहाडी परियोजनाको मात्र चर्चा गरेको भन्दै गुनासो गरेका थिए । भेटपछि सिंहले अनलाइनखबरसँग भने-’मधेसमा अहिले पनि गरीबी छ, विकासमा असमानता छ । मैले मधेसको विकासको कुरा गरेको हुँ ।’
जवाफमा मोदीले ‘तराई-मधेस’ भन्न आफु सकारात्मक रहेको भन्दै ‘पहाड बिरोधी’ मनोदशाबाट माथि उठ्न मधेसी नेताहरुलाई आग्रह गरेका छन् । भेटमा सहभागी एक एक नेताले भने-’मधेसले भनेको विकासमा सहयोग गर्छाैैं तर, एन्टी पहाडी भावनाबाट माथि उठ्नुस् भन्ने मोदीको आग्रह थियो ।’
मधेसलाई विशेष सम्बोधन गर्नु पर्ने मधेसी नेताहरुको जवाफमा मोदीले संसदमा संबोधनका क्रममा मधेसलाई मात्र नभई सिंगो नेपाललाई सम्बोधन गरिसकेको जवाफ दिएका छन् ।
प्रधानमन्त्रीको हैसियतले सम्बोधन गर्दा कुनै समुदायको मात्र कुरा गर्न नमिल्ने भन्दै मोदीले सबै फूल देखिने पुष्पगुच्छा बनाउन आफूले गरेको आग्रह स्मरण गराएका छन् । अनलाइनखबर

