प्रधानमन्त्री फेरि थलिए न बोल्न सक्छन् न सिंहदरबार जान
२६ साउन, काठमाडौं । अमेरिकामा क्यान्सरको उपचार गरेर फर्किएका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य फेरि बिग्रिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रात्रीभोज दिएर सुतेका प्रधानमन्त्री कोइराला भेटघाट र बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पुगेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री कार्यालयमा समेत उनी जान सकेका छैनन् ।
न्यूयोर्कको ममोरियल केटरिङ क्यान्सर सेन्टरमा रेडिएशन थेरापी गराएर फर्किएका कोइरालालाई त्यहाँका चिकित्सकले ३ महिना ‘कप्लिट रेष्ट’मा बस्न सुझाव दिएका थिए । प्रधानमन्त्री कोइरालालाई उभिन र बोल्न समेत कठिनाइ भएको छ । फोक्सोको क्यान्सरको रेडिएसन गरिएकाले त्यसको असर देखिएको निजी चिकित्सक डा. करवीरनाथ योगीले अनलाइनखबरलाई जानकारी दिए ।
रेडिएशन गरेको एक महिनापछि त्यसको असर देखिने र गाह्रो हुने जानकारी डाक्टरबाट पहिले नै गराइएको पारिवारिक स्रोतले जनाएको छ । तर, स्थास्थ्यमा थप खराबी देखएपछि तोकिएको मितिभन्दा अगावै उनलाई अमेरिका लगिने भएको छ । संयुक्त राष्ट्र संघीय महासभाको बैठक अगावै उपचार गरेर सभामा भाग लिन सक्ने बनाउने कोइराला कोटरीको तयारी रहेको बुझिएको छ ।
के हुन्छ कोइरालालाई ?
कोइरालालाई पछिल्लो समयमा उच्च ज्वरो आउने, खोकी लाग्ने र जिउ सुन्निने समस्या देखिएको छ । स्रोतका अनुसार जिउका विभिन्न भागमा दुख्ने तथा आँखाबाट आँशु झर्ने समस्या पनि देखिएका छन् । रेडिएशन थेरापीको असर मात्र हो कि अरु समस्या देखिएको हो भन्नेबारे अझै अनुसन्धान भइरहेको डा. योगीले बताए ।
‘उतैका डाक्टरले तीन महिना आराम गर्नु भनेका छन्, अरु थप जानकारी छैन’ उनले भने । योगीका अनुसार अझै कम्तिमा दुई महिना कोइरालाले पूर्ण आराम गर्नुपर्छ । योगीको टिमले उनको नियमित स्वास्थ्य परीक्षणसहित निगरानीमा राखेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीलाई जाडो महसुस हुने, काम्ने र शरीर दुख्ने समस्या देखिएपछि हिटरबाट सेक्ने गरिएको छ । साउनको गर्मीका बेलामा समेत हिटरको सहायता लिनुपर्ने अवस्था आउनुलाई चिकित्सकले सहज मानेका छैनन् । कोइरालाको रक्तचाप पनि उच्च देखिएको र त्यो १८० सम्म पुगेको ओम अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा समस्या बढेर क्षयरोगको संकेत देखिएपछि गत विहीवार चाबहिलस्थित ओम अस्पतालमा लगेर परीक्षण गरिएको थियो ।
ओइलाए ओली
स्रोतका अनुसार गत बिहीबार साँझ बालुवाटार गएर कोइरालालाई भेटेका एमाले अध्यक्ष केपी ओलीले पार्टीका पदाधिकारीहरुसँग कोइरालाको अवस्था निकै कमजोर देखिएको सुनाएका थिए । सत्ता साझेदारीका सम्बन्धमा कडा कुरा गर्न गएका ओली कोइरालाको अवस्था देखेर सामान्य कुरामात्रै गरेर फर्किएको स्रोतले जनाएको छ ।
कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा नै अस्वस्थ देखिएका थिए । मोदीलाई रात्री भोज दिएर फर्किएका कोइराला भोलिपल्ट दिनभरि सुतेका थिए । त्यसपछिको एउटा मन्त्रिपरिषद बैठक सचिव नियुक्तिका राखिएको थियो, जुन बालुवाटारमै केहीबेर बसेको थियो । प्रधानमन्त्री सिंहदरबार जानसमेत नसक्ने भएका छन् ।
कोइरालाकी पारिवारिक सहयोगी मृदृला कोइरालाले चिकित्सकको सल्लाह अनुसारनै सम्पूर्ण रुपमा आराम गराइएको जानकारी दिइन् । ‘केही दिनका लागि सबै कार्यक्रम, भेटघाट र अन्य मुभमेन्टहरु रोकिएको छ’ कोइरालाले अनलाइनखबरसँग भनिन् । कोइरालासँग केही महत्वपूर्ण भेटघाट बाहेक अरु सबै बन्द गराइएको छ ।अनलाइन खबर बाट
- See more at: Online Khabar Dot Com

