महारानी धरहरा एक रोचक प्रसंग

उन्‍नाइसौं शताब्दीको नेपाल बुझ्न हामीसामु बेलायतका तात्कालिक दूत (रेजिडेन्ट) ब्रायन हटन हज्सन्बाहेकका विक ल्प सायदै भेटिएलान्। हज्सन्का टिपोट, अध्ययन र प्रकाशनले यस्ता धेरै कुरा संकेत गर्छन जसले आज हामीले मानिआएको 'इतिहास' उल्टिन सक्छ।

हज्सन् कुटनीतिक जिम्मेवारीका लागि सन् १८२३-१८४४ सम्म नेपाल बसे। सन् १८४५ देखि दार्जिलिङमा बसेर पनि उनले नेपाल र हिमाली भेगको अनुसन्धान नै गरे। हज्सन र उनको अध्ययन अनुसन्धान टोली कहिलेकाहिँ अत्यन्तै विस्तारपूर्ण टिपोटको तयारीमा लागेको देखिन्छ।


यस्तै विस्तारित टिपोट मध्ये काठमाडौंका दरबारको लम्बाइ चौडाइ तथा उचाइका विवरण मुख्य मुख्य सैनिक पल्टन तथा दलका विचका दूरी र तिनका कम्पाउण्डको नाप (हातमा), काठमाडौंका २ वटा धरहराका सिढिको संख्या र क्षेत्र दरबारका चोकका नाप समेत भएका विवरण पाइएका छन्।

हज्सनले उपत्यकाका मुख्य मुख्य देवस्थल, स्तूप, विहार आदिको रेखाचित्र वा कलात्मक चित्रयुक्त विवरण पनि छुटाएका छैनन्। यस्ता टिपोट वा अभिलेख मध्ये भीमसेन थापाको निवासस्थित बगैंचामा शृंगार र सुन्दरता तथा भव्यताको प्रदर्शनका निम्ति बनाइएको एउटा १४२ सिंढीयुक्त धरहरा र त्यसभन्दा अलिक उत्तर वा माथिल्लो क्षेत्रमा तात्कालिक महारानी (ललितात्रिपुर सुन्दरी) द्वारा बनाउन लगाइएको १७४ सि)ढियुक्त 'माथिल्लो श्री ५ महारानी धरहरा' का विषयमा उल्लेख भएको र हनुमानढोका राजदरबारका चोक, तल्ला, छाना आदिका नापसहितका विवरण उल्लेखनीय छन्।

हज्सनले नेपालमा संकलन गरेका र आफैंले तयार गरेका टिपोट आदि ऐतिहासिक विवरण वा स्रोतका ब्रिटिश लाइब्रेरी लण्डनमा र रोयल एशियाटिक सोसाइटी, लन्डनमा सुरक्षित हस्तलिखित सामग्री अनेकौं भोल्यूममा यस्ता विवरण पाइएका छन्।

यस्तै सामग्री मध्ये ब्रिटिश लाइब्रेरीको हज्सन सामग्रीको भोल्यूम् ४४ को सामग्री संख्या २, पत्र ३८ (बि) मा सुरक्षित हज्सन्का नेपाली अनुसन्धान सहयोगी जीतमोहन खरिदारले तयार गरेको २ वटा धरहरा, हनुमानढोका दरबार, तथा सैनिक इलाका कम्पाउन्ड आदि विषका नाप सहितको टिपोट आजको यस लेखको सन्दर्भ स्रोतको रूपमा उपयोग गरिएको छ।

यस टिपोटमा उल्लिखित विवरणले उजाग गरेका महत्त्वपूर्ण तथ्य मध्ये काठमाडौंका धरहरा विषयसँग सम्बन्धित विशेष उल्लेखनीय बनेको छ। पञ्चायत शासनकालदेखि 'भीमसेन स्तम्भ' को रूपमा नयाँ नामाकरण गरिएको ऐतिहासिक धरहरा भीमसेन स्तम्भ नभएर श्री ५ महारानी (ललित त्रिपुर सुन्दरी) द्वारा बनाइएको 'माथिल्लो महारानी धरहरा' थियो भन्‍ने कुरा स्पष्ट हुन्छ।



यसै ऐतिहासिक टिपोटमा जनरल (भीमसेन थापा)को बागदरबारको बगैंचा भित्र रानीले बनाउन लगाएको धरहरा भन्दा ३२ सिंढीकम भएको त्यसै अनुरूप कमै व्यास भएको अर्को एउटा धरहरा भएको कुराको उल्लेख छत। यस टिपोट अनुसा महारानी धरहरामा जम्मा १७४ सिंढी थिए र भीमसेनको निवाससँगैको वगैंचामा बनाइएको सायद भीमसेनको नामको धरहरामा १४२ सिंढीमात्र थिए।

यस विवरणले भीमसनेको दरबार वा निवासको बगैंचाभित्रको धरहरालाई 'जनरलको बगैंचाको धरहरा' भनेर स्पष्ट रूपमा चिनाइएको देखिन्छ। यी दुवै धरहराको निर्माणको समयमा हज्सन् काठमाडौंमा भएको र यस टिपोटका टिपोट कर्ता जीतमोहन खरदार पनि तात्कालिक प्रशासन सेवामा प्रसिद्धि पाएका भीमसेन थापाका नजिकका प्रिय पात्र खरदार गुणवन्तका छोरा भएको हुनाले टिपोटमा लेखिएको विवरणमा भीमसेन थापाको नाम धरहराबाट छुट्याउने संभावना नै थिएन।

त्यसैले एउटा ठूलो र बागदरबारभन्दा बाहिर अलिक माथि उत्तरतर्फ रानीले बनाएको भनिएको माथिल्लो वा श्री ५ महारानी धरहरा नै अहिले देखिने धरहरा थियो र तल्लो अरुलक सानु चाहिँ अलिक दक्षिणतर्फ भएपनि भूकम्पमा परि नष्ट भएको विश्वास गर्नुपर्ने भएको छ।

अलि कठूलो (व्याससहित) हुँदा र महारानीको नाममा बनेको समेत भएकोले शृंगारको रूपमा बागदरबारभीत्रको बगैंचामा बनेको फरक उद्देश्यको धरहराभन्दा बलियो हुनुपर्दछ भन्ने पनि सहज अनुमान हुन्छ। त्यसैले जनरलको अर्थात् जनरल भीमसेन थापाको निवासको बगैंचाको धरहरा हाल नष्ट भैसकेको र हालको माथिल्लो वा श्री ५ महारानीको धरहरालाई नै खोज अन्वेषणै राम्रो नगरी 'भीमसेनस्तम्भ' नामाकरण गरिएको देखिन्छ। यी धरहरालाई 'महारानी धरहरा' वा 'महारानी स्तम्भ' भनेर पुरानै मूल नाममा परिचय गराउनु पर्ने समेत देखिएको छ।

त्यसैगरी यस टिपोटमा हनुमान ढोकाको नासल चोकको लम्बाई ११४ हात (गजबराबरको हातको हिसाबमा ६०) दरबारको छानाको उचाई ४६ हात भन्दा अलिक बढी भन्ने जस्तादेखि तला पिच्छेको (हातका हिसाबले) कुनै पक्ष नछोडिकन नाप सहितको विवरण दिइएको देखिन्छ।

सैनिक छाउनीको चारै तर्फको पर्खालको र पूर्व पश्चिम, उत्तर, दक्षिणको छुट्टाछुट्टै नाप, रामदल सैनिक पल्टनको कम्पाउण्डको चारै तर्फको जम्मा नाप र पूर्व पश्चिम, उत्तर र दक्षिणको छुट्टाछुट्टै नाप त्यसैगरी लालपेटारी भन्ने सैनिक इलाकाको पनि त्यस्तै गरी कुल नाप र छुट्टाछुट्टै नापको स्पष्ट उल्लेख छ।

त्यस्तै किसिमले देवीदत्त पल्टनको सैनिक लाईनको मुख्य घरदेखि सैनिक गारत गृहसम्मको दुरीको ३२५ हात सैनिक लाइन (तात्किालिन नेपालीमा लैन) देखि उत्तरपट्टिको विशाल हिटिको ६०० हात, वेदवानी पल्टनको लाइनको घरदेखि गारत सम्मको १७५ हात सैनिक लाइनदेखि वायव्य दिशातर्फ अवस्थित अर्को हिटीको जम्मा ८५ हात, हिटीको चारै दिशाको कूल नाप १४० हात, सैनिक लाइनदेखि वर्दवानी पल्टनका क्याप्टेनहरू बस्ने घरका मूल नाप ३०० हात भन्ने जस्ता बिस्तारित नापका विवरण यस टिपोटमा परेको देखिन्छ।

यस किसिमको विवरणले ब्रायन् हट्न हज्सन्को अध्यनयको विस्तारित विवरणको शैली तथा तात्कालिक सैनिक प्रबन्ध वा व्यवस्थाका विषयमा समेत नयाँ र थप जानकारी दिन सक्ने देखिएको छ। विभिन्न किसिमका नेपाली सैनिकका पल्टनका ना र सैनिक इलाका वा सम्बन्धित भवनका घरहरूका विषयका तात्कालिक टिपोटले सैनिक इतिहासको क्षेत्रमा थप प्रकाश पार्न समेत मद्दत पुग्ने कुरामा विश्‍वास गर्न सकिन्छ।

दरबारका वुर्जाका गजुरका नाप, बुर्जा, कौसि र त्यसभन्दा माथिल्लो भाग र तल्लो भागको नाप जस्ता विस्तारित नापका आधारमा हालको अवस्थासँग तुलना गर्न मद्दत पुग्ने देखिन्छ। कतिपय वास्तु नमूनामा परिवर्तन भएका वा कष्ट भएका अवस्थामा ऐतिहासिक मूल रूपका जानकारीका निम्ति समेत यस्तो टिपोटले मद्दत पुर्‍याउने तथा सम्पूर्ण स्रोतको भूमिका समेत खेल्ने देखिन्छ।

ब्रायन हज्सन्का टिपोट र संकलनमा मन्दिर, पौवा, धर्मशाला विशेष व्यक्तित्वका भवनहरू, दरबार, स्तूपा, कहिलेकाहिँ पोखरी, हिटी, धारा, सुरक्षा पर्खाल आदिका स्केच् सहितका विवरण समेत बटुलिएको पाइएको छ।

यस्ता सामग्रीले नेपालको कला-ववस्तुकला तथा सामाजिक सांस्कृतिक क्षेत्रको अध्ययन अनुसन्धानमा अवश्य पनि थप मद्दत पुग्दछ र धरहराका नामका विषयका माथि उल्लिखित जस्ता अनेक अस्पष्टतालाई हटाउन समेत मद्दत पुग्ने देखिन्छ। हनुमानढोका दरबारलाई राजकीय सम्मान स्वरूप हुन सक्दछ, 'श्री दरबार' भनेर यस टिपोटमा चिनाइएको प्रसंग पनि य सन्दर्भमा उल्लेखनीय छ। अन्नपूर्ण पोस्टबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस