राजधानीका गुन्डा प्रहरी निगरानीमा
काठमाडौं : प्रहरीले राजधानीका अन्य गुन्डामाथि पनि निगरानी बढाइरहेको छ। गुन्डाका नाइके दिनेश अधिकारी 'चरी' प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरू गुन्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन्।
कार्कीले भने, 'चरी मारिनु हुँदैनथ्यो। नेपाली जनता मरेकोमा दु:खी छु तर प्रहरीमाथि नै गोली प्रहार गरेपछि आत्मरक्षाका लागि क्रस फायर गर्दा उनको मृत्यु भयो। प्रहरीले अन्य गुन्डामाथि पनि निगरानी बढाइरहेको छ।' उनले प्रहरीले अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानप्रदत्त कानुनअनुसार कामकारबाही गरेको दाबी गरे। 'आत्मरक्षाको अधिकार सबैलाई हुन्छ। प्रहरीमाथि पहिला गोली प्रहार नगरेको भए घटनाले अर्को मोड लिनसक्थ्यो'
, उनले भने, 'प्रहरीले सीतापाइलाबाट पछ्याएको मोटरसाइकलमा एकजना मात्रै थिए, अरू थिएनन्।'
राजधानीमा गुन्डागर्दी मौलाएको दाबी उनको छ। फरार अपराधी खोज्ने प्रक्रियामा उपत्यकामा ठूलो संख्यामा प्रहरी टोली खटिएको दाबी उनले गरे। कार्कीले भने, 'हामी उजुरी संकलन गर्दैछौं। प्रमाण भेटिएमा अन्यलाई पनि समातेर कारबाही गर्छौं।' कार्कीले निगरानी बढाइएका अन्य गुन्डाको नाम भने खुलाउन चाहेनन्।
चरीको शव पोस्टमार्टमका लागि प्रहरीले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई बिहीबार पत्र पठाए पनि पोस्टमार्टम हुन सकेन। चरीका समर्थकले बिहान अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। धादिङका एमाले सभासद् राजेन्द्र पाण्डे, गुरुप्रसाद बुर्लाकोटी र धनबहादुर घलेले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई भेटेर चरीको सुनियोजित हत्या भएकाले छानबिन माग राखेपछि अस्पताल परिसर छाडेर प्रदर्शनकारी एमाले पार्टी कार्यालय बल्खु घेर्न पुगेका थिए। चरी पनि धादिङका हुन्। उनी एमाले धादिङका जिल्ला नेता थिए। प्रहरीले अस्पताल परिसरमा सुरक्षा स्थिति बलियो बनाएको थियो।
तत्काल शव बुझ्दैनौं
चरीका आफन्तले तत्काल शव नबुझ्ने बताएका छन्। प्रहरीले सुनियोजित ढंगले हत्या गरेको अरोप लगाउँदै घटनाको छानबिन नभई शव नबुझ्ने चरीका आफन्तले बताए। एक आफन्तले भने, 'शुक्रबार गृहमन्त्रीज्यूले संसद्मा दिएको जबाफ हेर्छौं। छानबिन समिति बनाएर घटनाको अनुसन्धान नगरेसम्म शव बुझ्दैनौं।' चरीको हत्या गरेको अरोपमा शुक्रबार प्रहरीका केही अधिकारीविरुद्ध किटानी जाहेरी दिइने पनि उनले बताए। अन्न्पूर्णपोस्ट

