कान्तिपुर लाई आफैं आउन अदालतको आदेश

काठमाडौ, भाद्र ११ - सर्वोच्च अदालतले कान्तिपुर पब्लिकेसन्सका प्रकाशक, सम्पादक, स्तम्भकार र संवाददातालाई सात दिनभित्र इजलासमा उपस्थित हुन आदेश गरेको छ।

न्यायाधीश गोपाल पराजुलीको इजलासले कान्तिपुरविरुद्ध दायर अवहेलनाका दुई मुद्दामा एकै पटक सुनुवाइ गर्दै पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र सहायक वरिष्ठ उपसम्पादक घनश्याम खड्कालाई 'सात दिनभित्र तारेख थाम्न नपाइने गरी अदालतमा आफैं उपस्थित हुन' आदेश गरेको हो। स्तम्भकार विजयकुमार पाण्डेलाई चाहिँ सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको छ।


कान्तिपुरविरुद्ध गत वर्ष वैशाख र यो वर्ष असारमा दायर अवहेलनाको मुद्दामाथिको पराजुलीको इजलासले मंगलबार ७ घन्टा लगाएर साँझ सवा ७ बजे ११ पृष्ठको उक्त आदेश जारी गरेको हो। आदेशमा दुई वर्षदेखि कान्तिपुरमा प्रकाशित सामग्रीहरू 'कुनै न कुनै रूपमा अदालतविरुद्ध लक्षित गरी न्यायाधीशको मानमर्दन गर्ने र अदालतको सम्मानमा आँच पुर्‍याउने कार्य निरन्तर गरिरहेको' उल्लेख छ।

'उक्त पत्रिकाका सम्पादक सुधीर शर्मा एवं सञ्चालक कैलाश सिरोहिया, ऐजनका निर्देशक स्वस्तिका सिरोहिया र समाचारदाता घनश्याम खड्कालाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतको अवहेलनामा किन कारबाही र सजाय नगर्ने हो, आफूउपर कारबाही र सजाय गर्न नपर्ने भए,' आदेशमा भनिएको छ, 'समाह्वान पाएको मितिले ७ दिनभित्र तारेख थाम्न नपाइने गरी यस अदालतमा बयान गर्न स्वयं उपस्थित हुन आउनू।'

अदालतले कान्तिपुरविरुद्ध परेको निवेदनलाई 'फौजदारी विविधको लगत' मा दर्ता गर्न पनि भनेको छ।

यसअघि कान्तिपुरविरुद्धको पछिल्लो मुद्दामा सुनुवाइ गर्दै अदालतले तीन महिनायता अदालत र न्यायाधीशका बारेमा छापिएका समाचार, लेख, रचना, स्तम्भ र टिप्पणीसमेतको फाइल ५ दिनभित्र तयार पारी पेस गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले गरेको उक्त आदेशमा कान्तिपुरविरुद्ध गत वर्ष वैशाखमा दायर भई म्याद गुजि्रएर बसेको अर्को अवहेलनासम्बन्धी मुद्दा पनि प्रतिवेदनमा साथै पेस गर्न आदेश गरेको थियो। त्यसपश्चात् लामो अन्तरालपछि अदालतले मंगलबार नयाँ आदेश जारी गरेको हो। प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले ती दुवै मुद्दा न्यायाधीश पराजुलीको इजलासमा तोकिदिएका थिए। अपराह्न साढे १ बजेसम्म दुवै मुद्दामाथि सुनुवाइ गरेपछि पराजुलीले ७ घन्टापछि आदेश जारी गरेका हुन्। आदेशका विभिन्न प्रकरणमा कान्तिपुरले अदालतको अवहेलना गरेको उल्लेख गरिएको छ।ekantipur बाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस