प्रहरी र आमा समूह जुवा, तास, मदिरा नियन्त्रण गर्न सँगसँगै

जाजरकोट, भदौ ३१ – दशैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा जाजरकोट प्रहरीले शान्तिसुरक्षा मजबुत बनाउन स्थानीय आमा समूहसँग सहकार्य गरेको छ । समाजमा घट्ने घटना समाजबाटै निर्मूल पार्नका लागि समाजकै मानिस सक्रिय हुनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले यो अभियान थालेको प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए ।


आफ्ना मातहतमा रहेका सबै प्रहरी चौकीलाई पनि स्थानीय आमा समूहसँग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिइएको छ । जुवा, तास र मदिरा सेवनबाट समाजमा ठूलाठूला घटना घटेको भन्दै त्यसको नियन्त्रणका लागि प्रहरीले आमा समूहसँग सहकार्य गर्नु सकारात्मक कुरा भएको खलङ्गाकी आमा समूहकी अध्यक्ष अम्वा शाहले जानकारी दिइन् । प्रहरी र आमा समूह मिलेर छिट्टै विकृतिविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्न थालिएको समेत शाहले बताए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट मातहतका सम्पूर्ण प्रहरी इकाई प्रमुखलाई नजिकिँदै गरेको दसैँ, तिहारको अवसरमा हुन सक्ने आपराधिक गतिविधिलाई निरुत्साहित गर्नका लागि प्रहरी आचरण तथा व्यवहारमा सुधार गरी प्रभावकारी तवरले प्रहरी परिचालनका साथै जनमुखी छिटोछरितो प्रहरी सेवा प्रदान गर्न निर्देशन दिइएको छ ।  रातोपाटी

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस