हामी युद्धमा छौंः ह्वाइट हाउस
हामी आईएससँग युद्धमा छौंः ह्वाइट हाउस
अमेरिकाबाट औपचारिक रूपमा स्पष्ट
वासिङ्टन, भदौ २८ – अमेरिका इस्लामिक स्टेटका कट्टरपन्थीसँग युद्धमा रहेको ह्वाइट हाउसले शुक्रबार घोषणा गरेको छ । यसलाई सिरियासम्बन्धी नीतिका विषयमा अर्को अर्थपूर्ण परिवर्तनको रूपमा लिइएको छ । टेलिभिजनसँग शृङ्खलावद्ध अन्तर्वार्ताहरूमा विदेशमन्त्री जोन केरीले आईएसविरुद्ध अमेरिकी कारवाही इराक तथा सिरियामा विस्तार गरेको भन्ने कुरालाई भने बताउन चाहेनन् ।
अमेरिकी विदेशमन्त्री केरी हाल मध्यपूर्वमा आईएसविरुद्ध गठबन्धनका लागि भ्रमणमा छन् । उनले अन्तर्वाताहरूमा युद्ध भन्ने शब्द प्रयोग नगरी अमेरिका अभियानमा रहेको बताए । उनले अमेरिका आतङ्कवादविरोधी कारवाहीमा रहेको र यो दीर्घकालीन कारवाही भएको सीबीएस न्युजलाई बताए । यसो भए पनि इराकमा गत केही सातामा अमेरिकी विमान तथा चालकविहीन विमानले इस्लामिक स्टेटका लक्ष्यहरूमा १६० पटक आक्रमण गरेका छन् । अर्नेस्टले शुक्रबार राष्ट्रपति ओबामाले इराक तथा सिरियामा आईएसआईएललाई कमजोर बनाउँदै नष्ट गर्ने अभियान आरम्भ गर्नुभएको र यो अघिल्लो इराक युद्धभन्दा फरक भएको बताएका छन् ।
बुधबार अमेरिकी राष्ट्रपति ओबामाले साँझको टेलिभिजन सम्बोधनमा इराकमा आईएसमाथि हवाई आक्रमण विस्तार गरिएको र यो समूहमाथि सिरियामा पनि आक्रमण गरिने बताएका थिएँ । उनले सिरियाका सुधारवादी विद्रोहीलाई आईएससँग युद्ध गर्न तालिम दिइने बताएका थिए । उनले यस अवधिमा अमेरिकी सैनिक जमिनमा तैनाथ नगरिने बताउनुभएको थियो । बुधबार राष्ट्रपति ओबामाले आफ्नो लक्ष्य आईएसलाई नष्ट गर्नु रहेको बताउनुभएको थियो । रासस/एएफपी/रातोपाटीबाट

