वीरगञ्‍जमा भीषण आगलागी

वीरगञ्‍ज  : वीरगञ्‍ज भन्सार कार्यालय परिसरको गोदाम घरमा बुधबार बिहान भीषण आगलागी भएको छ। राती दुई बजेदेखि गोदाम घरमा सुरु भएको आगलागी आठ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो।  नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, सीमा सुरक्षा बल, नेपाली सेनाको वरख गण र उपमहानगरपालिका कार्यालयको अग्नी नियन्त्रक दल संलग्‍न थिए।  कति क्षति भएको हो भन्‍नेबारे यकिन तथ्‍याङ आएको छैन।

गोदामका गार्ड दलबहादुर परियारका अनुसार बिहान करिब दुई बजे विजुली सर्ट भएर एमसिबी स्वीच बोर्डमा धुँवा देखिएको थियो। धुँवा देखिएलगत्तै आफूले एमसिबी स्वीच अफ गरेको केही बेरमै गोदामभित्र दनदनी आगो बलेको परियारले बताए।


फलामको पाताबाट बनाइएको करिब दुई सय मिटर लामो गोदामको पश्‍चिमपट्टीबाट शुरु भएको आगोको धुँवा बन्द गोदामभित्र पुरै फैलिएको छ। गोदामभित्र सूर्यमुखी तेल, रेफ्रिजरेटरमा प्रयोग हुने ग्याँस भरिएका सिलिण्डर, कपडा, महँगा मोटरसाइकल, कम्प्युटर पार्टस्, म्युजिक सिस्टमलगायत २० करोड रुपैयाँभन्दा बढीका सामान भण्डारण गरिएका थिए।

भन्सार अधिकृत गुणराज सुवेदीका अनुसार आगलागी भएको कुनामा मंगलबार मात्र एक कन्टेनर सूर्यमुखी तेल भण्डारण गरिएका थिए । सूर्यमुखी तेल र रेफ्रिजनेरेटरको ग्यासका कारण आगो दनदनी बलेर गोदामभित्र फैलिएको थियो । आगोको गती तीब्र भएकाले पाँचवटा वारुण यन्त्रकाे सहायताले घण्टौंसम्म आगो निभाउन सुरक्षाकर्मी लागेका थिए।आगलागी शुरु भएको तीन घण्टापछि वीरगन्ज उपमहानगरपालिका कार्यालयको एक्साभेटरको सहयोगमा गोदाम घर ठाउँ ठाउँमा भत्काएर क्षतिग्रस्त बनाइएपछि आगोबाट मालसामानको क्षति नियन्त्रणमा सहयोग पुगेको प्रहरी उपरिक्षक दिवेश लोहनीले बताए। अन्नपूर्ण पोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस