‘तल पानी उर्लिरहेको थियो, दुइ छोरीहरु काखमै थिए ।’ बुढी आमालाई पनि आँपको रुख मै उकालेँ ,हामी बसेको हाँगो माथी गोगन सर्प थियो । माथी जाँऔं भने सर्पको डर तल झरौं भने बाढीले लैजाने डर त्यो दिन सम्झदा अहिले पनि कहाली लागेर आउछ ।’ बर्दिया पदनाहा रानीपुरकी राजकुमारी चौधरीको बाढी आएको दिनलाई यसरी सम्झिन्छीन् ।
बबई नदिले उनको एकसरो कपडा बाहेक सबै चीज लगेको थियो । बस्ने घर बगाएको छ, खाने अन्न छैन तर उनीसंग त्यहि दिन सम्झना छ जुन दिन दिन २३ घण्टा सम्म आँपको रुखमा बसेर आफू सहित १० जनाको परिवारको नँया जिवन दिएकी थिइन् । त्यो दिनको सम्झना भने बाढीले बगाउन नसक्ने गरि उनको मनमा रहेको छ । ‘हामीलाई त्यो दिन सम्झदा फेरी जन्मेको जस्तो लागि रहेकोछ ।’ उनले भनिन् ‘ माथी सर्प थियो त्यसले पनि हामीलाई मार्न सक्थ्यो , तर भगवानले बचायो ।
उनीसंगै उमेर ढल्केकी उनको सासू आमा गर्भे चौधरी पनि त्यहि रुखमा २३ घण्टा बसीन् । उनले भनिन् ‘आमा लड्नुहोला भनेर रुखमा डोरीले बाँधिदिएको थिए ।’ उनले भनिन् ‘दुई छोरीलाई आगाडी पछाडी गरेर बाँधे । अघिल्लो दिन विहान पाँच बजे देखि भोली पल्ट विहान चार बजे सम्म माथी सर्पको डर, तल पानीको त्रास थियो ।’ एक बर्ष अघि मात्रै सरकारले मुक्त कमैया घोषणा गरि बबइ नदी किनारमा उनीहरुलाई स्थापीत गरेको थियो । पदनाहाका बाढी पिडितलाई राहत बर्दियाका बाढी पीडित परिवारलाई सहयोगार्थ सहयोगी हातहरुद्वारा एक सय पैतीस क्वन्टल चामल सहयोग गरेका छन् ।
देश विदेशमा रहेको विभिन्न संघ संस्था र व्यक्तिहरुद्धारा प्रदान गरिएको झण्डै ६ लाख रुपैयाँ नगदको चामल तथा पाँच लाख रुपैयाा बराबरको लत्ता कपडा पीडित परिवारलाई वितरण गरेका हुन् । बर्दिया पदनाहा गाविसको ७, ८ र ९ नम्बरका बाढी पीडित परिवारलाई राज्यले राहत नदिएको गुनासो भइरहेको बेला प्रदान गरिएको सहयोगले पीडित परिवारमा खुसी छाएको छ । काठमाडौंमा क्रियाशिल पत्रकार नारायण पौडेल र वैदेशिक रोजगार व्यावसायी गणेश बगाले तथा पोखरामा शिशिर कँडेलले सयुक्त रुपमा पीडितहरुको लागि राहत संकलन अभियान चलाएका थिए । अभियानबाट जम्मा भएको ६ लाख रुपैयाँ नगद र पााच लाख रुपैयााका लत्ता कपडा पदनहा गाविस ७,८ र ९ का बासिन्दालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।
राहत हस्तान्त्ररण कार्यक्रममा गोल्बल कलिऐन्ट उच्च मावि एवं हिसान कास्कीका अध्यक्ष प्रा. बाबुराम पन्त, मदरल्याण्ड उच्च मावि पोखरका निर्देशक त्रिभुवन शर्मा, सगरमाथा उच्च माविका संस्थापन साहिदा शाक्य, मदरल्याण्ड उच्च मावि पोखरका पदमा बराल, अमेरिकामा बसोबास गर्ने माला महत लगायतले पीडितहरुको लागि आर्थिक सहयोग गरेका थिए ।
पदनाहा गाविसका पूर्व गाविस अध्यक्ष पूर्णा शर्माले बाढी पीडित परिवारको लागि पर्याप्त रुपमा राहत नआएको गुनासो गर्नुभयो । गाविस अध्यक्ष डिल्लीराम आचार्यले सरकारले राहत दिन नसकेको अवस्थामा स्थानीय अगुवाहरुको सक्रियतामा संकलन गरिएको राहतले ठूलो सहयोग गरेको बताए । जम्मा भएको नगदबाट किनिएको १ सय ३५ क्विन्टल चामल मध्ये वडा नम्बर ८ लाई ६५ क्विन्टल, ७ लाई ५४ क्विन्टल र ९ लाई २५ क्वन्टल चामल वितरण गरिएको छ । पीडित परिवारहरुले आगामी दिनमा पनि गाउामा जन्मेर विभिन्न पेशा र व्यवसायमा लाग्नेहरुले थप राहत उपलब्ध गराउने विश्वास गरेका छन् । रातोपाटी

