लभ गरेको भन्दै रूखमा बाँधेर किला ठोकियो
राजविराज : सप्तरीको देउरीभरु वा गाविसका वीरेन्द्र यादवसहित उनका परिवारका सदस्यहरूले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन्।
छोरीसँग प्रेम गरेको रिसमा आरोपितहरूले फर्सेठ गाविस ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल चारपाटे मुड्नुका साथै डोरीले रूखमा बाँधी खुट्टामा किला ठोकेर र आँखामा सिरिञ्जले रोपी शनिबार यातना दिएको पीडितका बुबा छोटेलाल यादवले बताए।
बेहोस अवस्थामा राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना भएका पीडितको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर लगिएको सप्तरी प्रहरीले जनाएको छ। घटना सम्झनेबित्तिकै घाइते एकोहोरो हुने र बेहोस हुने गरेको पीडित परिवारका सदस्यले बताएका छन्।
चरम यातनाका कारण अर्धबेहोस अवस्थामा पुगेका घाइते त्रासका कारण बोल्न सक्ने अवस्थामा नरहेको चिकित्सकले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक केदार ढकालले पीडितको उजुरीपछि आरोपितमध्ये देउरीभरुवा १ का वीरेन्द्र यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।
पीडित पक्षको उजुरीमा वीरेन्द्र, उनका दाजु मुसहरु यादव, मुसहरुका छोरा कान्छा भनिने कृष्णमोहन यादवले यातना दिएको उल्लेख गरेका छन्। वैदेशिक रोजगारका लागि सोमबार मलेसिया जान थालेका घाइतेको मलेसिया जाने योजना रद्द भएको छ।
- See more at:annapurnapost.com

