नेपाल प्रहरीमा सबैभन्दा बढी नक्कली प्रमाणपत्र
२१ असोज, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका राष्ट्रसेवक कर्मचारीलाई धमाधम कारबाही गर्न थालेको छ । अख्तियारमा एक हजार दुई सय ५० भन्दा बढी उजुरी परेका छन् ।
आर्थिक वर्ष ०७०/७१ मा मात्रै नक्कली शैक्षिक प्रमाणपत्र लिएका ८० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । चालू आर्थिक वर्षको हालसम्म थप ३० जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले हाल एक सय ३१ वटा उजुरीमाथि अनुसन्धान अधिकृत तोकेर छानबिन गरिरहेको छ । केही समयअघि ६५ जनाभन्दा बढी अनुसन्धान अधिकृत तोकेर अख्तियारले छानबिन थालेको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र छानबिन महाशाखाका अनुसार अनुसन्धानका क्रममा सबैभन्दा बढी नेपाल प्रहरीमा नक्कली प्रमाणपत्र भेटिएको छ । प्रहरीपछि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खानेहरूमा शिक्षकको संख्या अत्यधिक रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, दुग्ध विकास संस्थान, विद्युत् प्राधिकरण, गुठी संस्थानलगायतका सार्वजनिक संस्थानमा पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खानेको संख्या अत्यधिक रहेको पाइएको अख्तियारले जनाएको छ । विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीविरुद्ध पनि नक्कली प्रमाणपत्रसम्बन्धी उजुरी परेका छन् । निजामती कर्मचारीविरुद्ध पनि प्रमाणपत्रसम्बन्धी उजुरी परेको र केहीलाई मुद्दासमेत चलाइएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारी छानबिनको दायरामा रहेको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।
बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलका मात्रै ६ सय नक्कली प्रमाणपत्र
छानबिनका क्रममा कर्मचारीले ल्याउने नक्कली शैक्षिक प्रमाणपत्रमध्ये अधिकांश उत्तरप्रदेशका विभिन्न शैक्षिक निकायका रहेको अख्तियारले जनाएको छ । बिहार इन्टरमिडियट एजुकेसन काउन्सिलका मात्रै ६ सय नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको अख्तियारका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
जागिर खान र बढुवा प्रायोजनका लागि सन् १९८० देखि १९८७ सम्मको अवधिमा भारतका विभिन्न शैक्षिक निकायका नक्कली प्रमाणपत्र ल्याइएको पाइएको ती अनुसन्धान अधिकृतको भनाइ छ । उनले भने, ‘त्यतिवेला कुनै प्रकारको अनुसन्धान र छानबिन नहुने भएकाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी धेरैले जागिर खाएको पाइएको छ ।’
अख्तियारका अनुसार त्रिभुवन विश्वविद्यालयबाट दिने प्रकृतिकै नक्कली शैक्षिक प्रमाणपत्र नेपालमै पनि बन्ने गरेका छन् । एसएलसीका नक्कली प्रमाणपत्रसमेत भेटिएको अख्तियारले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

