गोकर्णमा केपीले प्रचण्डलाई भने–तीन प्रदेशमा जाऊँ न त
काठमाडौं : एमाले अध्यक्ष केपी शर्माले ओलीले एमाओवादी अध्यक्ष प्रचण्डसँग तीन प्रदेशमा जान आग्रह गरेका छन् । संविधानका विवादित विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका बेला ओलीले प्रचण्डसमक्ष सो प्रस्ताव गरेका हुन् ।
करिब एक घण्टा लामो गोप्य वार्तामा ओलीले तीन प्रदेशमा जान त प्रचण्डसमक्ष प्रस्ताव गरेको गोकर्ण रिर्सोटमा रहेका एक नेताले जानकारी दिए ।
धेरै प्रदेशमा जाँदा झन धेरै समस्या आइलाग्ने बताउँदै अध्यक्ष ओलीले थोरै प्रदेश बनाउन सकेमा सबैका लागि हितकर हुनेमा जोड दिएका थिए । ओली प्रचण्डबीचको वार्तालगत्तै कांग्रेस र एमालेका नेताहरु द्धिपक्षीय छलफलमा जुटेका थिए ।
छलफलमा ओलीले प्रचण्डसँग भएका कुराबारे नेताहरुलाई जानकारी गराएका थिए । स्रोतका अनुसार प्रचण्डले ओलीसँग आफूहरु १० प्रदेशसम्म लचिलो हुन सक्ने बताउँदै जातीय पहिचानको अडानबाट पछि नहट्ने स्पष्ट पारेका थिए ।
तीन दलबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, संघीयताको मोडेल र निर्वाचन प्रणालीसहितका गम्भीर विषय सहमति जुट्न सकेको छैन । मंगलबारबाट जारी आवासीय बैठक सहमित जुट्न नसकेपछि बुधबार दिउँसो स्थगित भएको छ । तीन दलले भाइटीका मनाएर कात्तिक ९ मा पुनः सहमतिका लागि जुट्ने सहमति गरेका छन् ।
annapurnapost.com

