ओखर बेच्न भ्याइनभ्याइ
धनगढी, कार्तिक ७ – तिहार पर्वको रौनकतासँगै बैतडी जिल्लाका ओखर व्यापारीलाई ओखर बिक्री गर्न यतिबेला भ्याइनभ्याइ भएको छ । बैतडीको श्रीकोट गाविसका व्यापारी मोहनप्रसाद जोशीले गएको पाँच दिनमा धनगढी बजारमा चार क्विन्टल ओखर बिक्री गरेका छन् ।
उत्पादित क्षेत्रबाट थोकमा प्रतिक्विन्टल रु ३० हजारमा ओखर खरिद गरेर ल्याएका जोशीले धनगढी बजारमा भने प्रतिकिलो रु ४०० मा ओखर बिक्री गरिरहेका छन् । अन्य समयमा भन्दा तिहारका बेला ओखरको माग बढी हुने गरेकाले यसको बिक्री पनि राम्रै हुने गरेको जोशीले बताए । “पाँच क्विन्टलजति ओखर ल्याएको थिएँ, चार क्विन्टल बिक्री भइसक्यो”, जोशीले भने । बैतडीको श्रीकोट, देउलेक, हटैराजलगायतका गाविस क्षेत्र ओखर उत्पादनका लागि प्रख्यात मानिन्छन् ।
यो जिल्लामा वार्षिक झन्डै ३०० क्विन्टलभन्दा बढी ओखर उत्पादन हुने गरेको व्यापारीहरु बताउछन् । त्यहाँ उत्पादन हुने ओखर धनगढीका अलावा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा बढी बिक्री हुने गरेको श्रीकोट गाविसकै अर्का व्यापारी टेकराज जोशीले बताए । ओखरबाट कमाइ पनि राम्रो हुन थालेपछि स्थानीयवासीले अहिले ओखरको बिरुवा रोप्ने कार्य विस्तार गर्न थालेको यी व्यापारीहरुले बताएका छन् । हाडे ओखर (दाँतले फुटाउन नसकिने) भन्दा दूधे (दाँतले फुटाउन सकिने) ओखर खेतीतर्फ स्थानीय कृषक आकर्षित भएको बताइएको छ । रासस - See more at:ratopati.com

