यसरी हुँदैछ सार्कका विशिष्ठ पाहुनाको सत्कार
२१ कात्तिक, काठमाडौं । सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाको स्वागत, सुरक्षा, आवास र घुमफिरका लागि सरकारले आवश्यक प्रवन्ध मिलाएको छ ।
सार्क शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु मंसिर ९ मै काठमाडौं आइपुग्ने अपेक्षा सरकारको रहेको छ ।
ढीलोमा १० गते बिहानसम्म सबै पाहुना आइसक्नेछन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले ९ गतेदेखि नै सुरक्षा लगायतका भीभीआइपीको स्वागतका लागि आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिए ।
सम्मेलनका लागि आउने राष्ट्र तथा सरकार प्रमुखहरुलाई कसले स्वागत गर्ने भन्ने लगभग टुंगो लागेको छ । ‘दुईजना उपप्रधानमन्त्रीज्यूहरुले मिलाएर विशिष्ठ अतिथिहरुको स्वागत गर्ने तय भएको छ’ अधिकारीले भने ।
निधीलाई मौका
स्थलमार्ग हुँदै आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत भने भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधीले गर्ने भएका छन् । उनी जनकपुरकै जनप्रतिनिधि भएकाले मोदीलाई जनकपुरमा स्वागत गर्ने जिम्मा पाएका हुन् ।
मोदीको स्वागतका लागि जनकपूर जान दुवै उपप्रधानमन्त्रीहरु बामदेव गौतम र प्रकाशमान सिंहले रुची देखाए पनि निधीले अवसर पाएको स्रोतले जनाएको छ । ‘दुई उपप्रधानमन्त्रीबीच मोदीलाई स्वागत गर्न हानाथाप भएपछि लोकल कुरा गरेर निधीले बाजी मारे’ एक प्रभावशाली मन्त्रीले भने ।
अन्य देशका विशिष्ठ अतिथिहरुको हकमा राष्ट्र प्रमुखलाई गौतमले र सरकार प्रमुखलाई सिंहले भित्रभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।
श्रीलंका, माल्दिव्स र अफगानिस्तानबाट कार्यकारी राष्ट्रप्रमुखले सार्क शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् भने भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट प्रधानमन्त्रीले भाग लिनेछन् ।
विशिष्ठ अतिथिहरुलाई विमानस्थलमा स्वागत गरेपछि सीधै होटल सोल्टी लैजाने तालिका तय भएको छ । सडकमा स्काउट र स्कुले विद्यार्थीलाई विशिष्ठ अतिथिहरुको स्वागतमा लामबद्ध गराउने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।
सातै देशका राष्ट्र तथा सरकार प्रमुखको बासस्थान सोल्टी होटलमा तय भएको छ
कस्तो छ सुरक्षा घेरा ?
सातै देशका राष्ट्र तथा सरकार प्रमुखको बासस्थान सोल्टी होटलमा तय भएको छ । सुरक्षाका दृष्टिले एकै बसै विशिष्ठ पाहुनालाई एकै ठाउँमा राख्दा केन्द्रीकृत सुरक्षा हुने भएकाले यस्तो व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
‘फरक-फरक होटलमा राख्दा सुरक्षाकर्मीहरुको परिचालन बढी गर्नुपर्ने र आवत-जावतको व्यवस्थापन पनि गाह्रो हुने भएकाले एकै ठाउँमा राख्न सुझाव दिएका छौं’ एक सुरक्षा अधिकारीले भने ।
सुरक्षा घेराका बारेमा भने गृहमन्त्रालयको संयोजनमा छलफल चलिरहेको नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए । ‘सायद यसपालि घेरा नै भन्ने हुँदैन होला, यसको अन्तिम टुंगो लाग्न बाँकी छ’ पोखरेलले अनलाइनखबरसँग भने ।
गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सबै निकायको समन्वयमा सुरक्षाकर्मी परिचालन हुने बताए ।
स्रोतका अनुसार भीभीआइपी सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुनेछन् । अनुसन्धान बिभागका अधिकारीहरु खटिनेछन् ।
नेपाली सेनाले परिवहन र सुरक्षामा जिम्मेवारी लिने सहायकरथी तथा प्रवक्ता पोखरेलले बताए । ‘सार्क सुरक्षामा जिम्मेवारी के हुने भन्ने समन्वय गृहबाट भइरहेको छ, नेपाली सेना तयारी अवस्थामै छ’ पोखरेलले भने ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणस्थल जनकपुर, लुम्बिनी र मुक्तिनाथको क्षेत्रमा प्रारम्भिक निरीक्षण भइसकेको बताए । निरीक्षणमा भारतीय पक्ष पनि सहभागी थियो ।
चारवटै निकायका सुरक्षाकर्मी सार्क समारोहस्थल, होटल र घुमफिर तथा रिटि्रटस्थल सबैतिर परिचालन हुने गृह प्रवक्ता ढकालले बताए । कति सुरक्षाकर्मी परिचालन हुने भन्नेचाहिँ तय भइसकेको छैन । ‘त्यो छलफलकै चरणमा छ’ पोखरेलले भने । अनलाइन खबर

