गाडीमा झुण्डिन नदिएको भन्दै मेची राजमार्ग बन्द
झापाः गाडीमा यात्रु तथा गाडीका कर्मचारी झुण्डिएर यात्रा गर्न पाउनुपर्ने माग गर्दै यातायात मजदुरले मेची अञ्चलमा यातायात साधन ठप्प पारेका छन् । अन्य क्षेत्रमा सार्वजनिक सवारीका साधन निर्वाध चले पनि मेची राजमार्गमा बुधबार बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
कञ्चनजंघा ट्याक्सी व्यवसायी संघका किशोर तामाङका अनुसार सरकारले ल्याउन लागेको कडा नियम मान्य नहुने भन्दै बन्द आह्वान गरिएको हो । उनले भने, ‘चालकले एसएलसी पास गरेको हुनुपर्ने, जेल सजाय हुने लगायतका प्रावधान हाम्रो हित विपरित छ । बाटामा कोही यात्रु भेटे हामीले कहाँबाट सिट दिनु ? उसले झुण्डिन पाउनुपर्छ ।’
बुधबार विहानैदेखि बिर्तामोड बस पार्कमा इलाम, पाँचथर तथा ताप्लेजुङ जान भनेर आएका सयौं यात्रु अलपत्र अवस्थामा छन् । कोही पूर्व पश्चिम राजमार्गमा कुनै गाडी आउँछ कि भनेर कुरेर बसेका थिए भने कोही कतिबेला बन्द खुल्छ भन्दै प्रतिक्षामा थिए । मंगलबारदेखि नै दिनभर बस पार्कमा सवारी कुरेर बसेकी झापा पृथ्विनगरकी नरमाया चम्लागाईंले गाडीवालाहरुको मनपरीप्रति निकै आक्रोस पोखिन् ।
उनलाई माइत पाँचथरको फिदिम जान थियो । तर गाडी नपाएको झ्ँवाकमा उनले भनिन्, ‘पैसा हुनेहरु रिजर्भ गरेर भए पनि जान्छन् । हामीसँग न पैसा छ न आफ्नो गाडी नै । बस र ट्याक्सीवालाहरुको मनपरी भयो ।’


