म राजनीतिक जोगी हुँ: प्रधानमन्त्री

बनेपा:  प्रधानमन्त्री सुशील कोइरालाले आफू राजनीतिक जोगी भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय धुलिखेलको २० औँ दीक्षान्त समारोहमा शुक्रबार उनले 'म राजनीतिमा लागेको ५५ वर्ष भइसक्यो, राजनीतिमा लागेर देशका लागि सेवा गरौँ भन्ने लागेको छ' भने ।

काठमाडौँ विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कोइरालाले अनेक यातना सहेर यो स्थितिसम्म आइपुगेको छु, यो मेरो गौरबको विषय हो भन्दै शिक्षालाई मुलुक र जनताको सेवामा समर्पित गर्न जरुरी भएको बताए ।

उहाँले मुलुकको विकासका लागि ढोका खुलेको उल्लेख गर्दै  मुलुक कसरी बनाउने भन्ने विषयमा चिन्ता गर्न युवा विद्यार्थीलाई आग्रह गरे । अहिले बाधकको रुपमा रहेको बौद्धिक पलायन रोक्नुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री कोइरालाले देशलाई कस्तो बनाउने भन्ने जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको बताए ।

उहाँले अर्को फरक प्रसङ्गमा संविधान निर्माणका लागि संवाद, सहमति र सहकार्य दलहरुको बीचमा भइरहेको जिकिर गर्दै अखवारहरुले भ्रम फैलाएको आरोप लगाए । तपाईहरु ढुक्क हुनुहोस् निर्धारित समयमा नै संविधान आउछ प्रम कोइरालाको भनाइ थियो ।

विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजुले विभिन्न चुनौती हुँदाहुँदै पनि देशका युवाका लागि अवसरका नयाँ सम्भावना सुनिश्चित हुने कार्यक्रम विस्तारका दिशामा प्रयत्नशील भएको उल्लेख गर्दै हामीसँग कडा मिहिनेत र सहकार्य गर्ने संस्कार छैन, सफलताप्रतिको चाहना र उत्साह पनि छैन भनेर हामी स्थापित गर्न खोज्छौँ भने ।

प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका वरिष्ठ लोकसंस्कृतविद् डा. सत्यमोहन जोशी स्वास्थ्यका कारण अनुपस्थित रहेको सो कार्यक्रममा उनले दीक्षान्त भाषण प्रा. सञ्जयनाथ उपाध्यायले बाचन गरेका थिए ।

 सो भाषणमा शिक्षा र संस्कृति भिन्नाभिन्नै विषय भए पनि दुईबीचको अन्तरसम्बन्धले हाम्रो शिक्षा प्रणालीमा नयाँ आलोक ल्याइदिन्छ भन्ने उल्लेख छ ।

विभिन्न विधाका कुल एक हजार २४६ जना स्नातक दीक्षित भएको सो कार्यक्रममा चान्सलर स्वर्णपदक र जुद्धबहादुर स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी श्रद्धा पन्त, भाइसचान्सलर स्वर्ण पदकबाट स्कुल अफ आर्टसका रविन डङ्गोल र रणबहादुर शाह स्वर्ण पदकबाट स्कुल अफ म्यानेजमेन्टकी विद्या शर्मालाई प्रदान गरिएको थियो ।

 यसअघि चिकित्सक विधाका १ हजार ३७ जना दीक्षित भएका थिए ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस