विराट कोहलीको महत्त्वपूर्ण शतक

एडिलेड (एएफपी), मंसिर २६ - मिचेल जोन्सनको बाउन्सर बलले हेल्मेटमा लागे पनि जोगिएका कप्तान विराट कोहलीले महत्त्वपूर्ण शतक प्रहार गरेर भारतलाई अस्टे्रलियाविरुद्धको पहिलो टेस्टमा बिहीबार सम्मानजनक स्थितिमा पुर्‍याएका छन्।

कोहलीले सामना गरेको जोन्सनको पहिलो बलमै कडा ठक्कर खाएका थिए। गएको महिना मृत्यु भएका अस्टे्रलियन ब्याट्सम्यान फिलिप ह्युजको घटनाले उनलाई केही निराश पनि बनाएको थियो। तर, उनले भारतलाई ३६९-५ को स्थितिमा पुर्‍याए। अस्टे्रलियाले ५ सय १७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो।


कोहलीले १ सय १५ रन बनाए। उनलाई जोन्सनको बलमा रायन ह्यारिसले क्याच लिंदै पिचबाट हटाए। रोहित शर्मा ३३ रनमा नटआउट छन्। उनलाई विकेटकिपर वृद्धिमान साहले १ रन बनाएर साथ दिइरहेका छन्। दुई दिनको खेल बाँकी छँदा पाहुना टोली १ सय ४८ रनले पछाडि छ।

तीन वर्षअघि १ सय १६ रन जोडेका कोहलीले एडिलेडमा दोस्रो शतक बनाएका हुन्। उनलाई हेल्मेटको अगाडिको भागमा जोन्सनले प्रहार गरेको बल लागेपछि केही समय फिल्डरहरूले ध्यान दिएका थिए। त्यसपछि उनी निरन्तर खेलेका हुन्। 'विराटसम्म पुगेर मैले उनलाई ठीक छौ भनेर सोधें,' भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले भने, 'सुरुमा हामीले केही खराबी भएको छ कि भन्दै हेल्मेट चेक गर्‍यौं। तर, राम्रै रहेछ। त्यस बललाई बिर्संदै उनले साँच्चिकै राम्रो ब्याटिङ गरे। उनको इनिङ्स निकै महत्त्वपूर्ण छ।'

मुरली विजयले ५३, पुजाराले ७३, अजिन्क्या रहानेले ६२ रन जोड्दै राम्रो सुरुआत गरेर पनि त्यसलाई निरन्तरता दिन सकेनन्। उनीहरूले पहिलो इनिङ्समा शतक बनाएका स्टिभ स्मिथ, डेविड वार्नर र माइकल क्लार्कलेजस्तै प्रदर्शन गर्न सकेनन्।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस