हवल्दार सुन्तली बन्दै शिल्पा

काठमाडौं– निर्माता छविराज ओझाले 'लज्जा' रिलिज नहुँदै अर्को फिल्म 'हवल्दार सुन्तली'को सुटिङ सिध्याएका छन्।

दुइटा फिल्ममा लगानी भएकोले छवि भन्छन्, 'मेरो सबै पैसा फिल्ममै लागेको छ।'
यसअघि प्रायः फिल्ममा रेखा थापालाई हिरोइन बनाउँदै आएका छविले 'लज्जा' र 'हवल्दार सुन्तली' दुवैमा शिल्पा पोखरेललाई खेलाएका छन्। पछिल्लो फिल्मका निर्देशक ऋषि लामिछाने पनि शिल्पाको प्रशंसा गर्न पछि परेनन्।

'निकै राम्रो अभिनय गर्दोरहिछन्, हामी सबै खुसी छौं,' सुटिङ सकिएपछि निर्देशक लामिछानेले भने। लामिछानेले सुरुमा रेखा थापालाई फिल्मको हिरोइन बनाउन चाहेका थिए। तर त्यतिबेला रेखा र छविको मनमुटाव चल्दैथियो। हेटौंडासहित काठमाडौंका विभिन्न स्थानमा ४१ दिन सुटिङ चलेको थियो फिल्मको। शिल्पासहित किशोर खतिवडा र सबिन श्रेष्ठले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन्।
सुन्तली धामीको सत्य घटनामा आधारित भनिएको फिल्म निर्माता छविका अनुसार आगामी चैत २७ मा रिलिज हुनेछ। फिल्ममा मदन काश्यप घिमिरेको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, दीपक शर्माको संगीत र चन्द्र पन्तको द्वन्द्व रहेको छ। नागरिक न्युज

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस