गोहीसँग मेयरको विवाह
भनिन्छ, विवाह स्वर्गमै तय भएको हुन्छ। तर मेक्सिकोको एक मेयरको विवाहले भने सबैलाई चकित बनाएको छ। उनले कुनै सुन्दरी युवतीसँग नभएर गोहीसँग विवाह गरेका छन्। सान पेड्रो हुमेलुलाका मेयर जोएल भासकुजले आफ्नो गाउँको समृद्धिको लागि भन्दै गोहीसँग विवाह गरेका हुन्। उनी खुसी हुँदै भन्छन्, 'मेयर भएपछि आफ्नो क्षेत्रप्रतिको कर्तव्य त पूरा गर्नै पर्यो।' उनको गाउँ माछापालन गर्ने क्षेत्रका रूपमा लोकप्रिय छ। यहाँका बासिन्दाका दिनचर्या माछापालन र बेचबिखनबाटै चल्दै आएको छ।
मेयरले आफ्नो गाउँको पुरानो परम्परा अगाडि बढाउँदै विवाह गरेका हुन्। उनी विवाहपछि सेतो पोसाकमा सजिएकी गोहीलाई बोकी नाँचिरहेको दृश्य अहिले समाचार एजेन्सीमा निकै लोकप्रिय बनेको छ।
बेहुलाबेहुलीलाई आशीर्वाद दिन पुगेका सबै गाउँले पनि खुसीमा झुमिरहेका थिए। गत साता भएको यो विवाह कैयन् दिनसम्म चलेको थियो। पूरै गाउँले विवाह समारोहका क्रममा जन्तीतर्फबाट आएका थिए। गाउँका बासिन्दा गोहीसँग विवाह गरेमा प्रशान्त महासागरको तटमा माछा धेरै हुने र गाउँमा समृद्धि छाउने भन्नेमा विश्वास गर्छन्। मेयर जोयल भन्छन्, 'मेरो विवाहबाट गाउँवासी निकै खुसी छन्। उनीहरूले नाचगानका साथ मेरो विवाह गर्ने फैसलाको स्वागत गरे। यस क्षेत्रको हितको लागि काम गर्नु मेरो दायित्व पनि हो।'
मेक्सिकोको पेड्रो हुमेलुलाका मेयर जोएल भासकुजले आफ्नो गाउँको समृद्धिको लागि कुनै सुन्दरी युवतीसँग नभई गोहीसँग विवाह गरेर सबैलाई चकित बनाएका छन्। उनको गाउँ माछापालन गर्ने क्षेत्रका रूपमा लोकप्रिय छ।
नगरका स्थानीय निवासी इडुआरडो जाराटे यो परम्पराको निकै सम्मान गर्छन्। उनी भन्छन्, 'यो परम्परा हामीलाई हाम्रा बाबुबाजेले सिकाएका हुन्। यसमा हामी कृतज्ञ छौं।' विवाह समारोहमा गोहीको मुख पूरै बाँधिएको थियो। गाउँलेले ती गोहीलाई राजकुमारीको संज्ञा दिएका छन्। विवाहीको लागि स्थानीय परिषद्ले नै सहयोग गरेको थियो। यो कुनै वास्तविक विवाह नभएर एक पर्व मात्र भएको पनि मानिएको छ। गोही निकै डरलाग्दो हुनाले अवश्य पनि निकै सावधानी अपनाउनुपर्छ। हालै अस्ट्रेलियाको एक चिडियाखानामा एक कर्मचारीलाई गोहीले पानीमा तानेको थियो। ३१ वर्षीय ट्रेन्ट बर्टन बल्लबल्ल बाँच्न सफल भए।
यो दुर्घटना दर्शकसमक्ष गोहीलाई खाना खुवाउने कला देखाइरहेको समयमा भएको थियो। ३.७ मिटर लामो जन नाम गरेको उक्त गोही १० वर्षदेखि अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रान्तको चिडियाघरमा छ। गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समातेमा छोड्ने सम्भावना कम हुन्छ। त्यसैले यसलाई खतरनाक जनावरको रूपमा लिन सकिन्छ। -एजेन्सी

