कुकुरहरुको पनि सार्वजनिक शौचालय

स्पेनको एउटा सानो शहरमा कुकुरहरुले गर्ने फोहर तह लगाउन नयाँ उपाय शुरु गरेका छन् – उनीहरुको लागि सार्वजनिक शौचालय बनाएर । स्पेनको उत्तरपूर्वी भागमा रहेको एल भेन्ड्रल नाम गरेको उक्त शहरमा कुकुरहरुका लागि भनेर स्टेनलेस स्टीलले बनेको दिसा र पिसाब गर्ने स्थान बनाइएको छ ।


कुकुर धनीहरुले उक्त शौचालयमा आफ्ना पाल्तु जनवारलाई दिसा पिसाब गराएपछि फ्लस गर्ने व्यवस्था पनि मिलाएको छ । कुकुरहरुले दिसा–पिसाब गर्ने बानीलाई ध्यानमा राखेर उक्त शौचालयको डिजाइन गरिएको छ । उक्त शौचालयको डिजाइन एन्रिक जिरोनाले तयार गरेका हुन् ।

यसका लागि उनले १० वर्षसम्म कुकुरहरुको शौचालयको व्यवहारलाई अध्ययन गरेका थिए । ‘मैले धेरै वर्षको अध्ययनपछि के थाहा पाएँ भने कुकुरहरुलाई राम्ररी प्रशिक्षण दिने हो भने उनीहरु पनि मानिसहरु जस्तै व्यवहार गर्न सक्छन्,’ उनी भन्छन् ।

 एल भेन्ड्रल जस्ता सहरका लागि यस्तो शौचालय निकै उपयोगी हुनसक्छ जहाँ कुकुरले जथाभावी फोहोर गरेको खण्डमा कुकुर मालिकहरुलाई ७५० युरो सम्म जरिवाना तिराइने गरिन्छ । बार्सिलोना र म्याड्रिडजस्ता ठूला सहरमा त १,५०० युरोसम्म जरिवाना तिराइन्छ । एल भेन्ड्रलमा यस्तो नियम पालना नगर्ने कुकुरधनीहरु पत्ता लगाउन जासुस नै भर्ना गरेका थिए ।

जिरोनाको यो उपायबाट सबै कुकुरधनीहरु भने सहमत छैनन् । उनीहरुले यसरी शौचालय बनाउनुको सट्टा एउटा खुला चौरमा बार लगाएर राखे उत्तम हुने सुझाएका छन् । ‘कुकुरहरु रोबोट त हैनन् नी । उनीहरुलाई आफ्नै तरिकाले शौच गर्न दिनुपर्छ,’ एक कुकुर धनी बताउँछन् । उनीहरुलाई स्टील प्रयोग गरेको पनि चित्त बुझेको छैन । यसको सट्टा घाँस हुनुपर्ने केहीको धारणा रहेको छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस