रक्सी चखाउँने हुँदा बालकको मृत्यु
११ साउन, इलाम । रक्सी चाख्ने क्रममा बेहोस भएका इलामका एक बालकको मृत्यु भएको छ । इलाम चुलाचुली-६ का बालक अभिषेक राईको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको हो । रक्सी खाएर बेहोस भएका राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
घर नजिकै खेल्न गएकाबेला बुधबार स्थानीय विष्णु राईले घरमा पकाउँदै गरेको रक्सी बालकलाई चाख्न दिएकी थिइन् । रक्सी चाखेपछि एक्कासि रिङ्गटा लागेर रन्थनिएका अभिषेक आफ्नो घरमा पुगेर बेहोस भई भुइँमा लडेका थिए । बेहोस भएर लड्ने बित्तिकै उनलाई तत्काल उपचारका लागि लाइफलाइन अस्पताल विराटनगर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो बालकको मृत्यु भएको चुलाचुलीस्थित पेल्टिमारी प्रहरी चौकीले जनाएको छ ।
बालकको मृत्युपछि रक्सी खुवाउने विष्णु राईलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । रासस

