लवको चक्करले क्याम्पस नै खरानी भएपछि
काठमाडौं : प्रेमिकाका विषयमा दुई विद्यार्थीबीच उत्पन्न विवादले आइतबार उग्र रूप लिँदा त्रिचन्द्र क्याम्पसमा रहेको बीपी पुस्तकालयमा आगलागी भएको छ। आगलागीबाट पुस्तकालयका पुस्तक, टेबुल, कुर्सी, सोफालगायतका भौतिक सामग्री जलेर नष्ट भएका छन्।
बीएस्सी प्रथम वर्षमा अध्ययनरत एक छात्रालाई मन पराउने विषयमा सोही क्याम्पसमा अध्ययनरत प्रेम केसी र कमल बुढाबीच विवाद भएको थियो। एमाले भ्रातृ संगठन अनेरास्ववियुका अनुसार क्याम्पसको पुस्तकालयमा बिहान साढे ११ बजे प्रेम केसी पढिरहेको अवस्थामा कमल बुढा समूह खुकुरी हानेर भागेको थियो। खुकुरी प्रहारबाट रगताम्य भएर ढलेका केसीलाई देखेपछि पुस्तकालयमा कार्यरत तीन कर्मचारी पनि बेहोस भएर ढलेको क्याम्पसले जनाएको छ। केसी अनेरास्ववियु र बुढा कांग्रेस विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ता हुन्। त्रिचन्द्र नेविसंघका अनुसार केसी र बुढाबीच प्रेमिकाको विषयमा केही दिनअघि पनि भनाभन भएको थियो।
त्रिचन्द्रका अन्य विद्यार्थीका अनुसार दुवैले मन पराएकी ती छात्रा पुस्तकालयमा पढ्न जाने बेलामा केसी र बुढा पनि जान्थे। 'तर ती छात्रालाई भने यस विषयमा केही जानकारी थिएन', नेविसंघका एक विद्यार्थी नेताले भने, 'कसले मन पराउने भन्ने विषयको विवाद पुस्तकालयमा आगजनी र एकअर्काबीच आक्रमणसम्म पुग्यो।' अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले भने प्रेमिकाको विषयलाई लिएर झगडा भएको बारेमा आफूलाई जानकारी नभएको बताए। उनले आगलागीमा अनेरास्ववियुको संलग्नता नरहेको दाबी गरे।
आक्रमण गरेर बुढाको समूह भागेपछि आक्रोशित केसीका समर्थकले क्याम्पसकै स्वतन्त्र विद्यार्थी युनियनले सञ्चालन गरेको बीपी पुस्तकालयमा आगो लगाएका हुन्। त्रिचन्द्रमा लामो समयदेखि नेविसंघले स्ववियुमा जित्दै आएको छ। पुस्तकालयमा बिपी कोइरालाले लेखेका पुस्तक र कांग्रेससँग सम्बन्धित महत्त्वपूर्ण दस्ताबेजरहेको नेविसंघ त्रिचन्द्र एकाइका अध्यक्ष विष्णु पौडेलले बताए। उक्त पुस्तकालय २०५५ सालमा तत्कालीन स्ववियु सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको समयमा खोलिएको थियो। आगालागीमा अनेरास्ववियुका कार्यकर्ताको संलग्नता रहे पनि राजनीतिक विवाद नभएको पौडेलले बताए।
क्याम्पस प्रमुख हरिप्रसाद पराजुलीले कलम बोकेर हिँड्ने विद्यार्थीले हरितयार बोकेर क्याम्पस छिर्नु र आफैंले पढ्ने पुस्तकालयमा आगो लगाउनु चिन्ताको विषय भएको बताए। उनले भने, 'क्याम्पसमा कुन विद्यार्थीले हतियार बोकेर हिँडेका छन् भनेर दैनिक रूपमा झोला छाम्न सकिँदैन। यो विद्यार्थीको नैतिकतामा भरपर्ने कुरा हो।' के कारणले विद्यार्थीबीच झगडा भएको हो भन्ने विषयमा आफूलाई थाहा नभएको पराजुलीले बताए।
नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले घटनामा नेविसंघको संलग्नता नरहेको बताए। उनले भने, 'क्याम्पसभित्र हतियार बोकेर आफ्नै साथीलाई आक्रमण गर्ने र पुस्तकालयमा आगो लगाउने विद्यार्थीलाई कारबाही गर्न नेविसंघ सघाउँछ।'
प्रहरी बेलैमा नपुग्दा पुस्तकालय जोगाउन नसकिएको ठहर क्याम्पस प्रशासनको छ। क्याम्पस प्रशासनका अनुसार विद्यार्थीमाथि खुकुरी प्रहार भएपछि तत्काल थप अप्रिय घटना हुन नदिन प्रहरीको सहयोग मागिएको थियो। तर प्रहरीले लिखित रूपमा सहयोग माग्नुपर्ने बेवास्ता गरेको थियो। क्याम्पस प्रमुख पराजुलीले भने, 'विद्यार्थीमाथि खुकुरी प्रहार भएको जानकारी आउनेबित्तिकै थप घटना हुनसक्ने भन्दै दरबारमार्ग प्रहरीलाइ खबर गरेको थिएँ। तर प्रहरी आउन मानेन। प्रहरी समयमै आएको भए आगलागी हुँदैन थियो।'
आगलागी भइसक्दा पनि दरबारमार्गबाट प्रहरी नआएको पराजुलीले बताए। महानगरीय प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी उत्तम कार्कीलाई खबर गरेपछि मात्र प्रहरी आएको पुराजुलीले बताए। कार्कीले भने, 'क्याम्पस प्रमुखबाट मलाई फोन आएको थियो। प्रहरीको काम जहाँ विपत् पर्छ, त्यहीं पुगेर उद्धार गर्ने हो, लिखित वा मौखिक कुनै पनि आदेश कुर्नुपर्दैन।' Annapurna Post

