लेखा समितीको आँखा ऐन्फाको हिसाब किताबमा
काठमाडौं : व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो पाँच वर्षको लेखा परीक्षण प्रतिवेदन र अन्य सबै विवरण उपलब्ध गराउन आइतबार युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ।
एन्फाका उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङले एन्फामा करोडौं रुपैयाँ हिनामिना भएको आरोपसहित छानबिनको माग गर्दै लेखा समितिमा उजुरी दिएका थिए। लेखा समितिले तीन दिनभित्र ती विवरण पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको हो। लेखा समितिको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका धनराज गुरुङ, बालकृष्ण खाँड, रामहरि खतिवडा, उषा गुरुङ, नेकपा एमालेका भानुभक्त ढकाल, एनेकपा माओवादीका टोपबहादुर रायमाझीलगायतका सदस्यले एन्फामा व्यापक आर्थिक अनियमितता रहेको आरोप एन्फाकै पदाधिकारीले लगाउँदै आएकाले आवश्यक छानबिन हुनुपर्ने माग राखे।
'एन्फाअध्यक्षको छोराको खातामा मोहम्मद बिन हमामले एक लाख डलर हालिदिने अनि पैसा दिइएको समाचार बाहिर आएपछि व्यापारिक प्रयोजनका लागि पैसा लिइएको भन्ने?' बैठकमा सभासद् खतिवडाले प्रश्न गरे। सभासद् खतिवडाले समितिलाई एन्फाको पाँच वर्षयताको लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि त्यसको अध्ययन गरेर अगाडिको प्रक्रियाका बारेमा कदम चालिने अन्नपूर्णलाई बताए।
भ्रष्टाचारमा मुछिएर थापाले नेपाली खेलकुदकै प्रतिष्ठामै असर पुर्याएको भन्दै लेखा समितिका सदस्यहरूले उनको आलोचना गरेका थिए। फिफाको निर्वाचनमा बिन हमामले आफूलाई सहयोग गर्ने सर्तमा थापालाई एक लाख डलर दिएको समाचार गतवर्ष नै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हमामले थापाका छोराको बैंक खातामा एक लाख अमेरिकी डलर हालिदिएको दाबी गरेका थिए।
एसियाली फुटबल महासंघ (एएफसी) को कर्मचारीसमेत रहेका गौरव हमामले उनको खातामा पैसा हालिदिएको समाचार सार्वजनिक भएदेखि नेपालमै बस्दै आएका छन्। भर्खरै मात्र द गार्डियनले थापाको बैंक खातामा पनि बिन हमामले एक लाख १५ हजार अमेरिकी डलर राखिदिएको खुलासा गरेको थियो। थापाले भने हमामसँगको यी दुवै कारोबार व्यक्तिगत व्यापारिक प्रयोजनका लागि भएको दाबी गर्दै आएका छन्। थापा एएफसीका उपाध्यक्ष पनि हुन्।
एन्फाभित्र समेत अध्यक्ष थापाले व्यापक आर्थिक अनियमितता गरेको भन्दै उपाध्यक्षद्वय शेर्पा र मानन्धरले केही साताअघि अख्तियार, लेखा समिति, युवा तथा खेलकुद मन्त्रालयलगायतका निकायमा उजुरी दिएका थिए। लेखा समितिको बैठकमा राप्रपा नेपालका सभासद्ले भने थापा अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउँदै सार्वजनिक लेखा समितिमा एन्फालाई तान्नु नपर्ने धारणा व्यक्त गरेका थिए।
एन्फाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले लेखा समिति यस विषयमा लागिरहनु आवश्यक नरहेको बैठकमा सहभागी राप्रपा नेपालका सांसदको जिकिर थियो। थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन्। अन्नपुर्ण पोस्टमा छापिएको छ ।

