तेजाब हालेर प्रेमिकाको हत्या
मध्य प्रदेशको ग्वालियरको अम्बाहमा अवस्थित एक अदालतले एक युवतीको हत्यारालाई फाँसीको सजाय सुनाएको छ । मध्य प्रदेशको अम्बाहमा योगेन्द्रले विवाहित युवतीलाई एकतर्फी प्रेम गर्ने गर्दथे । उक्त महिलाबाट माया पाउन असफल भएपछि उनले ती युवतीको हत्या गरिदिए ।
मुरैनाको अम्बाह कोर्टले बिहिबार अपराधीलाई फाँसीको सजाय सुनाएको छ । एकतर्फी प्रेम गरेर तेजाब हालेर हत्या गर्ने अपराधीलाई फाँसीको सजायको घटना भारतीय इतिहासमा पहिलो भएको बताइएको छ । यो फैसलापछि न्यायपालिकामा मानिसहरुको विश्वास बढ्न थालेको पाइएको छ । सन् २०१३ को जुलाई २० मा योगेन्द्रले रुबीमाथि तेजाब हालेका थिए । रुबी आफ्नो माइती आएकी थिइन् र सबैजना सुतिरहेका थिए । योगेन्द्रले राती घरमा सुटुक्क छिरेर रुबीमाथि तेजाब हालेका थिए । परिवारका सदस्य समात्न जाँदा उनीहरुमाथि पनि तेजाबको आक्रमण गरेका थिए । यो घटना मध्य प्रदेशको मुरैना जिल्लाको पोरसा इलाकामा भएको थियो । घटना भएको अर्को दिन निकै पीडादायी अवस्थामा रुबीको मृत्यु भएको थियो । (एजेन्सी)

