सार्वजनिक शौचालय दुर्गन्ध फैलाउँदै

काठमाडौ, भाद्र १ - गाउँबाट विभिन्न सेवा, पहुँच र अवसर खोज्दै उपत्यका भित्रिनेहरूको संख्या धेरै छ। खासगरी उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरका सहरी क्षेत्रमा बाहिरबाट आउने सर्वसाधारणको भीड बढ्दो छ। उसै पनि यी तीन सहरलाई अनियन्त्रित रूपमा वृद्धि हुँदै गएको जनसंख्याले अस्तव्यस्त बनाउँदै गएको छ। समस्या बढ्दो छ। तीमध्ये एक हो सार्वजनिक शौचालयको अभाव। करिब ३० लाख व्यक्ति बसोबास गर्ने यी तीन जिल्लामा सार्वजनिक शौचालयको संख्या सयवटा पनि छैन।

भएका शौचालय पनि व्यवस्थित छैनन्। अझ अपांग र महिलामैत्री त छँदै छैन। अस्पताल, नगरक्षेत्र, प्रहरी कार्यालय लगायतका क्षेत्रमा सार्वजनिक शौचालयको अवस्थाबारे कल्पना घिमिरे, प्रतिमा बाँस्कोटा, दीपेन्द्र विष्ट, जगदीश्वर पाण्डे, लीला श्रेष्ठ र प्रशान्त माली लेख्छन्-

भक्तपुरकी रेनुका खत्री किनमेलका लागि न्युरोड वा असन कतै जानुपर्‍र्यो भने प्रायः पानी पिउँदिनन्। कारण हो, किनमेलका लागि उनको छनोटमा परेका क्षेत्रमा शौचालय अभाव। 'पानी खाएपछि पिसाब त लाग्छ, अनि शौचालय खोज्नुपर्ने समस्या हुन्छ,' उनी भन्छिन्, 'सामान किन्ने ठाउँमा शौचालयबारे सोध्दा छैन भन्ने जवाफ पाइन्छ।' खत्री त उदाहरण मात्र हुन्। उनी जस्ता धेरैलाई किनमेलका लागि बजार निस्कँदा शौचालयकै समस्याले पिरोल्ने गर्छ।

अति व्यस्त रहने रत्नपार्कका सडकपेटीमा सरकारले फुटपाथ पसलमा रोक लगाएपछि केहीले त्यही खुलामञ्चभित्र गुजारा चलाउन पसल थापेका छन्। झन्डै हजार मानिस त्यो बाटो हुँदै हिंड्छन्। तर, त्यहाँ व्यवस्थित सार्वजनिक शौचालय छैन।

बसपार्कको दक्षिण-पूर्वी भागमा महानगरपालिकाको सार्वजनिक शौचालय त छ। तर, सय मिटर टाढैसम्म दुर्गन्ध आउँछ। आसपास हुँदै हिंड्ने र पसल गरेर बसेकाले नाक थुन्नुपर्ने बाध्यता छ। फेरि उक्त शौचालयको उत्तर भागमा टिकट काउन्टर, गेस्ट हाउस, रेस्टुरेन्ट, खुद्रा पसलसमेत छन्। दक्षिण भागमा भने लुगाका पसल।

सैनिक मञ्चको अघिपट्टी हेको आकाशेपुलमुनि शौचालय बनाइएको छ। त्यहाँ शौच गर्न हरेक पटक पाँच रुपैयाँ तिर्नुपर्छ। तर त्यहाँ न त पानी हुन्छ, न सफासुग्घर नै। 'आपत् परेर शौचालय गइन्छ, भित्र पानी हुँदैन, सफा नगरेका कारण प्यान बाहिरै छरपस्ट फोहोर हुन्छ,' टुँडिखेलमा रेडिमेड लुगाको पसल गरी बस्ने सीताराम कार्कीले भने, 'पैसा तिरेपछि त्यहीअनुसारको सुविधा पनि हुनुपर्‍र्यो नि।'

काठमाडौं महानगरले राजधानीका सार्वजनिक शौचालय सञ्चालन र व्यवस्थापनका लागि ठेक्कामा दिने गर्छ। ठेक्का पाउने कम्पनीले भने शौचालयको सफासुग्घरमा ध्यान दिँदैनन्। रकम असुल्ने ध्याउन्नमा मात्र रहेका छन्। त्यसैले त बटुवासँग रकम लिने गरे पनि शौचालयलाई व्यवस्थित गरेका हँुदैनन्। त्यस्तालाई महानगरले निगरानी गरेको देखिंदैन। महानगरका ३२ सार्वजनिक शौचालय चलाउने ठेकेदार वा सम्बन्धित निकायले पैसा उठाएअनुसार सरसफाइ गरेका छैनन्। महानगरले सुन्धारा, कोटेश्वर र सीतापाइलामा ३ वटा घुम्ती शौचालयसमेत राखेको छ। तर, ती सबैको अवस्था पनि उस्तै छ। अझ महानगरका कुनै पनि शौचालय महिला र अपांगमैत्री छैनन्।

वातावरण विभाग महाशाखाका प्रशासन प्रमुख हरिबहादुर कुँवरले सार्वजनिक शौचालयको निगरानी गरिरहेको दाबी गरे। 'निगरानी गरिरहेका हुन्छौं,' उनले भने, 'मापदण्डअनुसारको नभए कारबाही हुन्छ।' उनका अनुसार शौचालय सञ्चालन गर्नेले पानी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

ठाउँ अभाव

महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले सार्वजनिक शौचालयका लागि खाली जग्गाको अभाव भएको बताए। उनका अनुसार शौचालय निर्माणका लागि विभिन्न संघसंस्थाले चासो देखाएका छन्। तर उनीहरूलाई जग्गा उपलब्ध गराउन नसक्दा समस्या भएको उनले बताए। 'सार्वजनिक शौचालयका लागि निवेदन आउँछन् बनाउने ठाउँ भेटिंदैन,' श्रेष्ठले भने।

 सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेश आचार्यले एक वर्षअघि दसवटा सार्वजनिक शौचालयको डिजाइन सकिए पनि स्थान अभावले काम सुरु हुन नसकेको बताए। एक गैरसरकारी संस्थाले गत वर्ष गरेको अध्ययनअनुसार राजधानीमा एक वर्षमा ५० हजार सर्वसाधारणले एउटा सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन्।

सधैं जाम

साताअघि गोरखा आँपपीपलकी ६० वर्षीया बीजु कार्की ज्वरोले थलिएपछि उपचार गर्न वीर अस्पताल आएकी थिइन्। परीक्षणका लागि पिसाब गर्न अस्पतालको शौचालय जाँदा फोहोरमा चिप्लिएर लडिन्। त्यसपछि उनी थलिइन्। 'अब त शौचालय जान कठिन भयो,' उनले भनिन्, 'पिसाब आए पनि जान मन लाग्न छाड्यो।'

मुलुककै जेठो अस्पतालको शौचालय देख्दा उनीमात्रै होइन, शौचले च्यापेर छट्पटाइरहेका बिरामीसमेत पस्न हिचकिचाउँछन्। ढोकादेखि जमेको पानी छिचोलेर बत्तीबिनाको कोठामा पस्न सर्वसाधारण डराउँछन्। शौचालयको प्वालमा पिसाब र दिसा भरिएर जाम हुन्छ। अन्य कार्यालयका शौचालय पानी नआएर जाम हुँदा वीर अस्पतालमा भने धेरै पानी आएर अहाल नै बनेको हुन्छ। धारा बिग्रिएर पानी आइरहेको हो।

आकस्मिकदेखि नियमित स्वास्थ्य जाँचका लागि वीरमा दैनिक एक हजारभन्दा बढी सर्वसाधारण पुग्छन्। त्यहाँ शौचालय जानलाई बिरामी र कुरुवाले लाइन बस्नुपर्ने बाध्यता छ। डाक्टरलाई स्वास्थ्य जाँच गराउन टिकट काट्नदेखि शौच जानसमेत लाइन बस्नुपर्दा सर्वसाधारण समस्यामा छन्। दिसा, पिसाब परीक्षणका लागि अस्पतालको शौचालय जानैपर्ने बाध्यता हुन्छ। तर, त्यहाँ फोहोरको डंगुर हुन्छ। वीरले भने आपmनो क्षेत्रमा उत्पादन हुने फोहोरलाई व्यवस्थित गरेको दाबी गर्दै आएको छ।

वीर मात्र होइन, थापाथलीस्थित प्रसूतिगृहको शौचालयको अवस्था पनि उस्तै छ। एक त बिरामीलाई सहज हुने किसिमले नजिक शौचालय छैन। अस्पताल बाहिरको शौचालयमा कहिल्यै पानी हुँँदैन। शौचालयमा बाहिरैदेखि फोहोर थुपि्रएको, दुर्गन्ध र जाम सधैंको समस्या हो। अस्पतालको स्थापना हुँदैदेखि बनेका यी शौचालयको मर्मत र व्यवस्थापन हुन नसक्दा बिरामीले सास्ती खेप्नुपरेको छ।

कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्षयरोग अस्पताल भक्तपुर, शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल लगायतमा शौचालयको अवस्था वीर र प्रसूतिगृहभन्दा बिल्कुलै फरक छैन। उपचारमा आउनेहरू दुर्गन्धले झनै बिरामी हुने अवस्था छ।

दिसा/पिसाबको दुर्गन्ध र कीटाणुले विभिन्न रोग सर्ने र संक्रमण हुनसक्ने चिकित्सक नै बताउँछन्। वीर अस्पतालका ग्यास्ट्रोलोजिस्ट भूपेन्द्र बस्नेत सरुवा रोग एक व्यक्तिबाट अर्कोमा सर्ने विभिन्न माध्यममध्ये दिसा र पिसाब मुख्य रहेको बताए। पानीबाट सर्ने रोग प्रायः दिसा, पिसाबकै कारण सर्छ। फोहोर शौचालय प्रयोग गर्ने बिरामीलाई संक्रमणको बढी खतरा हुन्छ। घाउचोट लागेका र शल्यक्रिया गरेका बिरामीलाई इन्फेक्सनको सम्भावना पनि उत्तिकै हुने चिकित्सकहरू बताउँछन्। 'झाडापखाला र कतिपय महामारी दिसा र पिसाबकै कारण फैलने हँुदा बिरामी र स्वस्थ व्यक्तिका लागि फोहोर शौचालय खतरापूर्ण हुन्छन्,' बस्नेतले भने, 'अहिले बढिरहेको इबोला भाइरसको महामारी फैलनुको एक माध्यम पनि दिसा, पिसाब पनि हो।'

प्रहरीमा पनि उस्तै

राजधानीस्थित प्रहरी कार्यालयहरूमा समेत सर्वसाधारणका लागि व्यवस्थित शौचालय छैन। सर्वसाधारणको धेरै आवतजावत हुने काठमाडौं, ललितपुर, भक्तपुर परिसर र मातहत कार्यालयमा पनि व्यवस्थित शौचालय छैन। सामान्य समस्या पर्नेबित्तिकै प्रहरी कार्यालय पुग्नुपर्ने हुन्छ। विभिन्न मुद्दामा घन्टौं प्रहरी परिसरमा बिताउनुपर्ने हुन सक्छ। तर, शौचालय नहुँदा खपेर बस्नुपर्ने हुन्छ। नयाँ भवन बनाइएका वृत्त, प्रभागमा शौचालय भए पनि पानीको समस्या छ। काठमाडौं परिसरमा शौचालयको दुर्गन्ध टाढासम्म फैलिएको छ।

महिला र पुरुषका लागि एउटै शौचालय छ। भित्रबाट चुकुलसमेत नभएको शौचालयमा महिलाले भित्र छिर्न मुस्किल छ। एकै स्थानमा भएका कारण त्यही कार्यालयमा कार्यरत महिला कर्मचारीसमेत शौचालयमा पस्न हिच्किचाउँछन्। 'सुरुमा भित्र कसरी पसौं हुन्छ, पसेपछि कसरी निस्किने समस्या छ,' एक महिला प्रहरीले भनिन्, 'बाहिर निस्कँदा पुरुषहरू शौच गरिरहेका हुन्छन्।'

महिलामैत्री कार्यालय बनाउने ध्याउन्नमा रहेको प्रहरीका नयाँ बनेका भवनमा समेत महिलाका लागि कमै मात्र शौचालय बनाइएको छ। 'सिनियर महिला अधिकृत त्यहाँ छन् भने शौचालयका लागि दबाब दिएपछि मात्र बन्छ,' प्रहरी मुख्यालयकी एक महिला अधिकृतले भनिन्, 'महिला कर्मचारी पनि छन्, उनीहरूलाई अलग्गै चाहिन्छ भन्ने बुझाइ अहिलेसम्म छैन।' केही समयअघिसम्म अपराध महाशाखामा काम गर्ने महिला प्रहरी कार्यालय बाहिर रेस्टुरेन्टतिर शौचालय गर्न जान्थे। तर अचेल भने त्यहाँ सिनियर अधिकृतका लागि अलग्गै शौचालय बनाइएका कारण त्यो समस्या छैन। भक्तपुर परिसरमा व्यवस्थित गरे पनि मातहत कार्यालयको अवस्था उस्तै छ।

१० वर्षदेखि बन्द  

ललितपुरको मंगलबजार पर्यटकका लागि बनाइएको शौचालय दस वर्षदेखि बन्द छ। उक्त शौचालय जापान सरकारले बनाइदिएको हो। पाटन दरबार क्षेत्र अवलोकन गर्न दैनिक सरदर २ सय पर्यटक आउँछन्। शौचालय नभएपछि पर्यटक होटल, रेस्टुरेन्टतिर छिर्न बाध्य छन्।

उपमहानगरका योजना शाखाका कान्छाभाइ महर्जनले बन्द शौचालयबारे अनभिज्ञता प्रकट गरे। 'त्यो शौचालय पहिला नै बन्द भएको हो, अहिले के छ थाहा छैन,' उनले भने। उपमहानगरपालिकाभित्र विदेशीका लागि बनाइएको एकसहित ६ शौचालय छन्। कुनै पनि व्यवस्थित देखिंदैनन्। सर्वसाधारणका लागि पाटनढोका, मंगलबजार, घपगाल, लगनखेल बसपार्क र जावलाखेलमा शौचालय छन्। लगनखेल बसपार्क बाहेकका सबै शौचालयमा उपमहानगरको निगरानी छ। लगनखेलको भने बुद्धिविकास मण्डलले सञ्चालन गर्दै आएको छ।

पाटनढोकास्थित शौचालयमा धारा जडान गरिएको छ तर पानी आउँदैन। दिसा गर्न आउनेले बाहिरबाट जगमा पानी लिएर जानुपर्ने बाध्यता छ। महिला/पुरुष लेखिएको प्लेट नलेखिंदा प्रयोग गर्न आउने झुकिन्छन्। अझ ६ वटामा त भित्रबाट लगाउने चुकुलसमेत छैन। सरसफाइको अभावमा दुर्गन्धित छ। एक हजार लिटरका दुईवटा पानी ट्याङ्की राखिए पनि रित्तै छन्। अझ आश्चर्य त शौचालय प्रयोजनका लागि बनाइएको एउटा कोठा जुत्ता पसलेले भाडामा लिएका छन्।

जावलाखेलस्थित शौचालयको हालत पनि उस्तै छ। त्यहाँ चुकुल छैन। 'भेन्टिलेसन' मा जाली छैन। सुविधाबिनाको शौचालयको शुल्क भने ५ रुपैयाँ लिने गरिएको छ। शौचालय सञ्चालक दिलीप देउलाको गुनासो भने अर्कै छ। उनी भन्छन्, 'उपमहानगरले पुनर्निर्माण गर्ने आश्वासन मात्र दिने गरेकाले व्यवस्थित गर्न नसकिएको हो।' जावलाखेल टोल सुधार समितिका सदस्य छिरिङ लामाले केही वर्षअघि 'वाटर एड' नामक संस्था र अरू दातृनिकायको सहयोगमा पुनर्निर्माण गर्ने भनिए पनि नगरपालिकाले बेवास्ता गर्दा निर्माण हुन नसकेको बताए।

शौचालय हटाएर कार्यालय

भक्तपुरको दुई नगर क्षेत्रमा ३५ वटा सार्वजनिक शौचालय रहेको तथ्यांक छ। त्यसमा भक्तपुर नगरपालिकाको विवरणमा सर्वसाधारणका लागि १६ र पर्यटकका लागि ८ शौचालय छन्। तर कतिपयलाई शौचालय भएको जानकारी नै छैन। अझ रोचक त के छ भने त्यहाँ सार्वजनिक शौचालय मासेर वडा कार्यालय राखिएको छ। भक्तपुर नगरपालिकाको ६, ९, १०, ११ र १५ वडा कार्यालयका शौचालय हटाएर स्थापना गरिएका हुन्। तुछीभला-५ मा भने सार्वजनिक शौचालय मासेर पुस्तकालय बनाइएको स्थानीयवासीले बताए। 'वडा कार्यालयका लागि ठाउँ चाहिएकाले शौचालय हटाएर कार्यालय बनाइएको हो,' सरसफाइ शाखा प्रमुख दिलीपकुमार सुवालले भने, 'त्यसको सट्टा अर्को शौचालय बनाएका छौं।'

उनले खानलाई त पानी नपुगेको अवस्थामा शौचालयमा कहाँबाट पुर्‍याउने प्रतिक्रिया दिए। 'नगरपालिकाले ट्यांकरबाट पानी बोकेर शौचालयमा हाल्ने अवस्था छैन,' उनले भने। मध्यपुर थिमी नगरपालिकाको लिस्टमा भने ११ वटा छन्। तर कतिपय शौचालय प्रयोगविहीन छन्। 'खुला दिसामुक्त जिल्ला घोषणा हुँदा ७ शौचालय मर्मत गरिएका थिए,' मध्यपुर थिमी सरसफाइ प्रमुख अधिकृत तुल्सीभक्त तकोले भने, '९ शौचालय नियमित छन्, बाँकीलाई संरक्षण गर्न सकिएको छैन।' पानी अभावले संरक्षण गर्न नसकिएको उनले बताए।

सरकारले भक्तपुरलाई कात्तिक ४ मा खुला दिसामुक्त क्षेत्र घोषणा गर्‍यो। तर, गाविस र नगरक्षेत्रमा सर्वसाधारणको भीडभाड हुने स्थानमा शौचालय छैन। 'खुला दिसामुक्त घोषणामा मात्र सीमित भएको छ,' ताथलीका गणेश कार्कीले भने, 'इँटाभट्टाको वरिपरि हेर्न आए हुन्छ।' जिल्लाको १६ गाविसमा भने सार्वजनिक शौचालय नै छैन। कटुञ्जे र ताथली गाविसमा एक-एक सार्वजनिक शौचालय निर्माण कार्य सुरु गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख आशिष घिमिरेले बताए।इकान्तिपुर मा प्रकाशित छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस