अन्तर जातीय विवाह गरेको निहुमा कुटपिट

विराटनगर : विराटनगर ५ का २४ वर्षीय सुमन मग्रातीले अन्तरजातीय विवाह गरेको विषयलाई लिएर उनका बाबु केशव मग्रातीमाथि बुहारीका माइती पक्षले कुटपिट गरेका छन्। राज्यले अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइरहँदा जातीय विभेद हुने गरीको गालीगलौज गर्दै केशवमाथि केटी पक्षकाले आइतबार राति घरमै गएर दुर्व्‍यवहार र कुटपिट गरेका हुन्।

'छोराले आन्तरजातीय विवाह गर्दा मैले कुटाइ खानुपर्‍यो', उनले भने। सुमनले विराटनगर ५ गोकुलटोलकी २० वर्षीया उर्मिला खतिवडासँग गत जेठ ५ गते प्रेमविवाह गरेर जिल्ला अदालत सुनसरीबाट पतिपत्‍नीको नाता कायम गराएका थिए।माइती पक्षले प्रहरीको सहयोग लिएर गत साउन २१ गते उर्मिलालाई सुमनबाट छुटाएर घर लगेका थिए। छुटाएको ११ दिनपछि आइतबार सुमन र उर्मिला दुवै बेपत्ता भएका छन्।

उर्मिलाका बाबु भीम खतिवडा, मामाहरू हरि, बाबुराम न्यौपानेलगायतले रातको समयमा घरमै आएर कुटपिट गरेको स्थानीय बासिन्दाले बताए।
'केटा र केटी नै बेपत्ता भएपछि आफ्नी छोरी तत्काल निकाल भन्दै गालीगलौज र कुटपिट गरे', केशवले भने, 'विवाह गर्नु अपराधजस्तै भयो।' केशवका अनुसार उर्मिलाको माइती पक्षले मग्राती परिवारलाई सानो जातको भएर ठूला जातकी केटीसँग विवाह गर्ने भन्दै दुर्व्‍यवहार र गालीगलौज गरेका छन्।

उर्मिलाका बाबु भीम खतिवडा, मामाहरू हरि, बाबुराम न्यौपानेलगायतले रातको समयमा घरमै आएर कुटपिट गरेको स्थानीय बासिन्दाले बताए। मग्राती परिवारले प्रहरीकै सहयोगमा खतिवडा परिवारले आफूहरूमाथि अन्याय गरेको दाबी गरेको छ।

खतिवडा परिवारले दलित परिवारलाई दु:ख दिन उर्मिलालाई दबाब दिएर मोरङ जिल्ला अदालतमा साउन २७ गते पति सुमनसँग नाता विच्छेद र अंश मुद्दा पनि दर्ता गराउन लगाएको एक आफन्तले बताए।

परिवारको नियन्त्रणमा रहेकी उर्मिला अचानक हराएपछि केटी पक्षले उर्मिलालाई पुन: सुमनले नै भगाएको भन्दै प्रहरीको सहयोगमा गालीगलौज गरी कुटपिटसमेत गरेको सुमनकी आमा विमलाले बताइन्। मग्राती परिवारले उर्मिलाको माइती पक्षले आफूहरूसँग बदला लिन केटी लुकाएर छोराको अपहरण गराएको हुनसक्ने जानकारी प्रहरीलाई गराएको छ।

मोरङ प्रहरी प्रमुख एसपी विश्‍वराज पोखरेलले अन्तरजातीय विवाह गरेकै विषयलाई लिएर कुटपिट गर्ने पीडक पक्षलाई कारबाही गरिने बताए। पतिपत्‍नीको नाता कायम भइसकेका सुमन र उर्मिला भागेर अन्तै गएको हुनसक्ने उनको भनाइ छ। अन्नपूर्ण पोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस