तीन दिनदेखि फुको चिउराले छाक टार्दै
बाढीपीडितको बिचल्ली: तीन दिनदेखि फुको चिउरा
उढरापुर (बाँके) : 'बस्तीमा एक्कासि बाढी पस्यो। घरसँगै सबै बगायो। केही बचाउन पाइएन, अन्नपात लुगाफाटो सबै लग्यो', जनकल्याण प्रावि उढरापुरमा आश्रय लिएर बसिरहेका बाँके उढरापुर-२ का माइलाल सुनारले भने, 'तीन दिनदेखि फुका चिउराको भर बसेका छौं। हाम्रो त बिजोगै भयो हजुर।'
स्थानीय जेठी नाला र मानखोलाको बाढी पसेर उढरापुरको गिजरा, पुरैना, सिमलधारीका अधिकांश घर भत्किएका हुन्। बाढीपीडित जनसेवा मावि गिजरा र जनकल्याण प्रावि उढरापुरका साँघुरा कोठामा कोचाकोच गरेर बसिरहेका छन्। तीन दिनसम्म पनि राहत सामाग्री पाउन नसकेको माइलालले बताए। स्थानीय कृषि विकले घर भत्किएपछि आफूहरू सुकुमबासी भएको र सरकारले पनि केही नगरेको बताए। 'भोकैभोकै मर्ने अवस्था आइसक्यो, खानेकुरा केही छैन। सहयोग दिन कोही आएका छैनन्', अर्का बाढीपीडित लोकबहादुर खत्रीले भने।
पति गुमाएकी ३८ वर्षीया माया सार्की घर भत्किएपछि तीन छोरा र एक छोरीसहित बहिनीको घरमा बसिरहेकी छन्। 'हामीले त केही पनि पाएनौं, घर पनि भत्कियो, भएको सामान पनि सबै बगायो,' मायाले भनिन्, 'पाँचजनाको परिवार बहिनीकै घरमा कति दिन बस्ने?'
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता विष्णु सहनीले उढरापुरमा भएको क्षतिको यथार्थ विवरण आइनसकेकाले राहत वितरणमा ढिलाइ भएको बताए। नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपसमितिका सचिव भीमबहादुर रानाले क्षतिको विवरणसहित राहतका लागि स्थानीय प्रशासनसँग आग्रह गरिएको बताए।
विस्थापित बिरामी पर्न थाले
बाढी तथा डुबानबाट विस्थापित बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। स्कुलमा आश्रय लिइरहेका २० जनाभन्दा बढीमा ज्वरो, रु घाखोकी, टाउको दुख्ने र झाडापखालाको समस्या देखिएको छ। ६३ वर्षीय वाहिद अलिले टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायतका समस्या देखिएको बताए।
स्कुलमा बसिरहेकी ३५ वर्षीया दुर्गा सुनारलाई झाडापखाला लागेको छ। 'यहाँ कोही आएकै छैन, कसले दिन्छ औषधि?' उनले भनिन्। त्यस्तै ७० वर्षीया खगिसरा थापा र ४५ वर्षीया खगिसरा विकलाई पनि झाडापखाला लागेको छ। स्कुलमै बसेका अविनाश र प्रशंसालाई ज्वरो आएको छ।
रेडक्रस बागेश्वरी उपशाखाका सचिव रानाले तत्काल स्वास्थ्यशिविर सञ्चालन नगरे महामारी फैलिन सक्ने बताए। अन्नपूर्ण पोस्टबाट

