पशुपतिनाथ मन्दिरमा मख्ख मोदी
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान पशुपतिनाथको मन्दिरमा पुगेर दर्शन र विशेष पूजा गरेका छन् । मोदी विशेष सुरक्षासहित बिहान पौने दस बजे पपशुपतिमा पुगेका थिए। सोमबार आराध्यदेव शिवको दर्शन र पूजा गर्नाले भगवान् शिव प्रसन्न भई भक्तजनले इच्छाएको फल प्राप्त हुने जनविश्वास छ।
पशुपतिनाथमा मोदीले ४५ मिनेट पूजाअर्चना गरे। पशुपतिमा पूजा अर्चनाका लागि मोदीसँगै भारतबाट केही पूजारी आएका छन्।मोदीले पशुपतिमा करिब दुई करोड मूल्यको २५ सय किलो श्रीखण्ड चढाएका छन्।मोदीले पूजापछि नेपाली २७ हजार भेटी प्रदान गरेका छन्।
| तस्वीर साैजन्य गुगल इमेजस |
पशुपतिनाथमा विशेष पूजा गर्ने भारतीय प्रधानमन्त्री मोदी पहिलो हुनेछन्।पशुपति क्षेत्र विकास कोषले मोदीलाई स्वागत गर्न धिमेलगायतका स्थानीय बाजागाजा र झाँकीको व्यवस्था गरिएको छ। तीन गुरू र एक सय आठ बटुकले उनको स्वागतमा वैदिक मन्त्रोच्चारण गरी स्वस्ती शान्तिको कामना गरेका थिए। कोषले बुधबारदेखि पशुपति परिसरको सरसफाई थालेको छ। कोषले पशुपतिनाथ मन्दिर प्रवेश गर्ने मुख्यद्धारलाई विशेष किसिमले सजाइएको छ।
कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले मोदीले विशेष पूजा गर्ने जानकारी दिए। विशेष सुरक्षासहित मोदीले गर्ने पशुपतिको दर्शन र पूजा बासुकीनाथ मन्दिरबाट सुरू भएर पशुपतिनाथको गर्भगृहमा विशेष पूजा गरेपछि टुंगिने उनले बताए। यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पशुपतिनाथको दर्शन गरेकी थिइन्।
पशुपतिमा विशेष पूजापछि राष्ट्रपतिसँग भेटवार्ता र राष्ट्रपति भवनमै दिवाभोजको कार्यक्रम छ। त्यसपछि होटल हायत फर्केर दिउँसो राजनीतिक भेटघाटको कार्यक्रम छ। प्रमुख प्रतिपक्षी दलका नेता एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम छ। मधेस केन्द्रित दलका नेताहरुलाई सामूहिक भेटवार्ताका लागि होटल हायातमै बोलाइएको छ। उद्योगी तथा व्यापारी प्रतिनिधिमण्डलसँग पनि हायातमै भेट्ने कार्यक्रम छ । साढे चार बजे मोदी स्वदेश फर्कने कार्यक्रम छ। अन्नपूर्न पोस्ट

