काठमाडौं : कोरियन भाषा परीक्षाका लागि आवेदन दिनेको भीड बढेपछि पहिलो दिन नै प्रहरीले लाठी चार्ज गरी नियन्त्रण गर्नुपरेको छ। आवेदकको भीड नियन्त्रण गर्न नसक्दा उपत्यकाको च्यासल खेल मैदानमा लाठी चार्ज गरी भीड नियन्त्रण गरिएको हो।
ईपीएस कोरिया शाखाले भने च्यासल खेल मैदानमा भीडभाड बढेपछि प्रहरीले सामान्य हस्तक्षेप गरेको जानकारी दिएको छ। अन्य स्थानमा भने सहज वातावरणमा आवेदन संकलन भइरहेको ईपीएस कोरिया शाखाको भनाइ छ। बुधबार करिब १८ हजारजनाले आवेदन फारम बुझाएका छन्। आवेदकको सबैभन्दा भीड च्यासल फुटबल खेलमैदान र एक्मी इन्जिनियरिङ कलेजमा देखिएको छ। पछिल्ला दुई दिनमा फारम बुझाउनेको संख्या ह्वात्तै घट्ने भएकाले सुरुका दिनमा भीडभाड नगर्न ईपीएसले गरेको आग्रह आवेदकले मानेनन्।
च्यासलस्थित खेल मैदानमा आवेदन दिनेको अघिल्लो दिन साँझदेखि नै लामो लाइन लागेको थियो। ईपीएस शाखाले राति १:३० बजेसम्ममा चार हजारवटा कुपन वितरण गरिसकेको थियो। सुरुका दिनमा फारम बुझाउनेलाई सजिलो प्रश्न आउने र पास हुने सम्भावना रहेको हल्ला चलाइएका कारण पहिलो दिन नै आवेदकको भीड लागेको हो। तर, ईपीएस कोरिया शाखाले भने पहिला फारम भरेका आधारमा सजिलो प्रश्न आउने वा पास हुने भन्ने हल्ला गलत भएको जानकारी दिएको छ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले फारम र्यान्डम्ली बॉँडिएकाले पहिलो दिन आवेदन दिएकाको रोल नम्बर पनि सबैभन्दा पछि पर्न सक्ने र अन्तिम दिन फारम बुझाएकाको सबैभन्दा अघि रोल्न नम्बर हुन सक्ने बताए। यस्ता हल्लाको पछि नलाग्नेसमेत उनले आवेदकसँग आग्रह गरेका छन्। आवेदन दिने म्याद शनिबारसम्म छ। प्रत्येक दिन बिहान नौ बजेदेखि साँझ ६ बजेसम्म आवेदन फारम बुझ्ने व्यवस्था गरिएको छ।
सुरुका दिनमा फारम बुझाउनेलाई सजिलो प्रश्न आउने र पास हुने सम्भावना रहेको हल्ला चलाइएका कारण पहिलो दिन नै आवेदकको भीड लागेको हो। तर, ईपीएस कोरिया शाखाले भने पहिला फारम भरेका आधारमा सजिलो प्रश्न आउने वा पास हुने भन्ने हल्ला गलत भएको जानकारी दिएको छ।
उपत्यकाका तीन स्थान र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ। एक्मी इन्जिनियरिङ कलेज (सीतापाइला), ल्याबरोटरी स्कुल (कीर्तिपुर) र च्यासल फुटबल खेलमैदान (बालकुमारी, ललितपुर) बाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ।
उपत्यकाबाहिर पोखरा, धरान, बुटवल र धरानबाट आवेदन दिन पाइन्छ। आवेदन फारम संकलन कार्यको कोरियाका प्रतिनिधिले अवलोकन गरिरहेका छन्। प्रत्येक केन्द्रमा आवश्यकताअनुसार ६० देखि ८० जनासम्म कर्मचारी परिचालन गरिएको छ। यसबाहेक प्रत्येक केन्द्रमा एक सय ५० जना सुरक्षाकर्मी खटाइएको ईपीएसले जानकारी दिएको छ।
विगतमा आवेदकले फारम भर्दा धेरै गल्ती गरेको र ईपीएसका कर्मचारीले समेत सबै सच्याउन नसकेकाले यसपटक कर्मचारीलाई विशेष तालिम दिइएको छ। आवेदकले नाम, थर तथा जन्ममिति लेख्दा अत्यधिक गल्ती गर्ने गरेका छन्। फारम बुझाउन प्रत्येक आवेदकले २४ अमेरिकी डलर (करिब २४ सय रुपैयाँ) तिर्नुपर्छ। परीक्षा भने असोजमा सञ्चालन हुनेछ।
६० हजारभन्दा बढीले आवेदन दिने ईपीएस शाखाको अनुमान छ। गत वर्ष ४८ हजारजनाले आवेदन फारम भरेका थिए। दक्षिण कोरियाले कोटा गोप्य राखे पनि गत वर्षभन्दा धेरै कामदार लिने अनुमान छ। सन् २०१४ को लागि जनवरीयता मात्रै ४६ सयजना कामदारको माग भइसकेको छ।
कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा नेपाली कामदार लिने गरेको छ। कृषिमा भन्दा उत्पादनमूलक क्षेत्रमा धेरै कामदारको माग छ। गत वर्ष उत्पादनमूलक क्षेत्रतर्फ ४६ सय जनाले परीक्षा उत्तीर्ण गरेका थिए भने कृषिमा ३६ सय जना पास भएका थिए।
पास भएका मध्ये उत्पादनमूलकमा २६ सयजनाको कोटा स्वीकृत भइसकेको छ भने कृषिमा जम्मा १३ सयजनाको मात्र कोटा आएको छ। आगामी वर्ष कृषिको तुलनामा उत्पादनमूलक क्षेत्रमा काम गर्न जान पाउनेको संख्या निकै बढी हुनेछ।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रूपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ। कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। नेपाली कामदारले कोरियामा मासिक एक लाखभन्दा बढी कमाउँछन्। अन्नपूर्णपोस्टबाट

