मोदीले कति भाषामा बोल्छन् ?
काठमाडौं,साउन१८–नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नेपाली संविधानसभामा सम्बोधन गर्दा नेपाली भाषाबाटै सम्बोधन सुरु गरे । विदेशी नेता नेपाल आएर सार्वजनिक सम्बोधनमा नेपाली भाष प्रयोग गरेको यो पहिलोपटक हो । केही समयअघि भुटानको भ्रमणमा मोदीले भुटानी संसदलाई हिन्दी भाषामै सम्बोधन गरेका थिए । त्यस्तै ब्रिक्स सम्मेलनमा ब्राजिल पुग्दा पनि मोदीले हिन्दीक प्रयोग गरेका थिए । भारतमा पछिल्लो समय मोदी भाषाको विवादमा तानिएका थिए ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक सूचनाका लागि सबै राज्यले हिन्दी भाषाकै प्रयोग गर्नुपर्ने निर्देशन दिएको थियो । तमिलनाडुकी मुख्यमन्त्री जयललितालगायत अन्य राज्यले बिरोध गरेका थिए । आफ्नै मातृभाषामा प्रोत्साहन गर्नुपर्ने विचार राख्ने मोदी प्रधानमन्त्री भएपछि भारतका स्थानीय भाषालाई प्रभाव पारेको विश्लेषण छ । तर आइतबार प्रधानमन्त्री मोदीले नेपालको संविधानसभामा नेपाली भाषा प्रयोग गरेर कैयौं नेपालीको मन जिते भने उनको भाषालाई लिएर भारतका केही नेताले विरोध पनि गरेका छन् । प्रधानमन्त्री भएलगत्तै मोदीले आफुले हिन्दी भाषा नै प्रयोग गर्ने बताएका थिए ।
‘विश्वमा नेताहरुसँग भेट्दा पनि म हिन्दी नै प्रयोग गर्ने छु,’उनले भनेका थिए,‘म जोसँग भेट्दै छु,उसलाई अंग्रेजी आए पनि म हिन्दीमै कुरा गर्नेछु । ’मोदीको यो निर्णयका कारण उनी भुटान ब्राजिल पुग्दा दोभासेका साथ पुगेका थिए । मोदी अंग्रजी स्पष्ट र धाराप्रबाह रुपमा बोल्न सक्छन् । गुजरातबाट राजनीतिक करिअर सुरु गरेका मोदी गुजराती भाषा पनि बोल्छन् । उनले लेखेका गुजराती भाषाका कविता चर्चित छन् । मोदीलाई राजस्थानी र मराठी भाषाको पनि ज्ञान छ । यस्तै मोदीलाई संस्कृत भाषाका केही मन्त्र पनि कण्ठस्थ छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

