चरीको मृत्यु क्रस फायरिङमै भएको हो
काठमाडौं : गृह तथा उपप्रधानमन्त्री वामदेव गौतमले गुन्डा नाइके दिनेश अधिकारी (चरी) को मृत्यु प्रहरीसँगको क्रस फायरिङमा भएको जानकारी संसद्लाई दिएका छन्।संसद्को शुक्रबारको बैठकमा विशेष मन्तव्य दिदै गौतमले चरीको हत्या नभएर सुरक्षाकर्मीसँगको भीडन्तमा मृत्यु भएको बताएका हुन्।
गौतमले चन्दा वा फिरौती असुली, हतियार खरखजनालगायतका मुद्दामा प्रहरीबाट खोजी भइरहेका चरीलाई पछ्याउँदै जाँदा प्रहरीलाई गोली हान्न लागेपछि प्रतिकार रुपमा प्रहरीबाट भएको फायरिङ मृत्यु भएको बताए। उनले चरीबाट भएका अन्य अपराधबारे खोजी भइरहेको जानकारी दिए। गृहमन्त्रीको जवाफपछि एमालेका सभासद् राजेन्द्र पाण्डेले आपत्ति गर्न खोजे पनि सभामुखले मौका दिएनन् । गृहमन्त्री बोलेपछि आपत्ति गर्न मिल्दैन भनेपछि पाण्डे चुप लागेका थिए।
चरीको मृत्यु प्रकरणमा विभिन्न प्रश्न उठेपछि गृहमन्त्रीले यसबारे संसद्लाई जानकारी दिएका हुन्। एमालेले चरीको सुनियोजित रुपमा हत्या गरिएको आरोप लगाउँदै संसदीय छानबिनका लागि माग गरेको थियो।

