भारी वर्षाका कारण देशभर बाढी र पहिरोको प्रकोप

काठमाडौँ , साउन ३०– बुधबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जीवन प्रभावित बनेको छ । देशभर बाढीका कारण विभिन्न स्थानहरु डुबानमा परेका छन् भने केही ठाउँमा पहिरो गएको छ । पानी पर्ने क्रम अझैं रोकिएको छैन । जल तथा मौसम विभागका अनुसार पानी अझैं केहि दिन पर्नेछ । लगातार परेको मुसलधारे वर्षाकापछि पहिरो जाँदा रुकुममा दुई बालीकाको मृत्यु भएको छ ।

वर्षाका कारण पहिरोले घर बगाइदिएपछि जिल्लाको चुनवाङ् गाविस वडानम्बर ८ का नन्दराम घर्तीका दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । घर माथिबाट आएको पहिरोले घर बगाउँदा घर्तीका १० वर्षीया छोरी विमला घर्ती र ७ वर्षीया विजया घर्तीको मृत्युभएको छ ।
पहिरोमै परि दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा १४ वर्षीया पूर्णीमा घर्ती र रुकुमकोट गाविसकी ६ वर्षीया कमला मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले जानकारी दिए । पहिरोमा घरका सबै सामान नष्ट भएको बताइएको छ । लत्ताकपडा, भाँडाकुडा, नगत रुपैयाका साथै गाई, भैसी र बाख्रा पनि बेपत्ता भएको डिस्पी कट्टेलले जानकारी दिए ।

घटना स्थलमा इलाका प्रहरी चौकी चुनवाङको टोली र स्थानीय वासीले खोजी कार्य जारी राखेका छन् । पहिरो बिहीबार दिउँसो तिर गए पनि सदरमुकाम भन्दा निकै टाढा रहेकाले अवेर मात्र जानकारी आएको प्रहरीको भनाई रहेको छ । वर्षा अझै नरोखेकोले क्षेति तथा घटनाहरु प्नि बढनसक्ने अनुमान गरिएको छ ।

जबर्जस्ती खोला तर्न खोज्दा बगाएर बेपत्ता
पूर्वी चितवनको कयर खोलाले बगाएर एकजना बेपत्ता भएको छ । बिहीबार साँझ ७ बजे जबर्जस्ती खोला तर्न खोज्दा शक्तिखोर–८ अजिङ्गरेका ३४ वर्षीय च्याङवा प्रजालाई कयर खोलाले बगाएको जुटपानी प्रहरीले जनाएको छ । गाउँलेले खोला नतर्न आग्रह गर्दा पनि उनी जबर्जस्ती खोलामा पसेको प्रहरीले जनाएको छ । उनको राति खोजी गरिए पनि अवस्था पत्ता लाग्न नसकेकाले अहिले बिहानदेखि खोजीका लागि प्रहरी परिचालन भएको जुटपानीका प्रहरी सहायक निरीक्षक लालबाबु पालले जानकारी दिए । चितवनको शक्तिखोर कालिमा मन्दिरबाट न्युरेनीतर्फ जान उनी खोला तर्न लागेका स्थानीय केशव अधिकारीले बताए । तीन दिनदेखि जिल्लामा अविरल वर्षासँग विभिन्न क्षेत्र डुबानमा समेत पारेको छ ।
यसैबीच प्रहरीले चितवनको बछौलीस्थित सुकुमवासी रहेको रमाइलो बस्ती डुबानमा परेपछि यहाँको १० घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । सो गाउँका ३३ जनालाई मालपुर माविमा लगेर राखिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । चितवनको माडी, पूर्वी चितवनको सौराहा र भरतपुर पश्चिम चितवनका विभिन्न क्षेत्र डुबान भएको चितवन प्रहरीले जनाएको छ । नारायणी नदी खतरानजिक रहेकाले सतर्क हुन जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम गेलालले सबैमा आग्रह गरेका छन् । आज बिहान पनि वर्षा भने रोकिएको छैन ।
बाढीले नैदी खोला र न्युखोलाको पुल बगायो
चार दिनदेखिको लगातारको वर्षाका कारण म्याग्दीको बरन्जा गाविसमा पर्ने दुईवटा खोलामा बाढी आउँदा झोलुङ्गे पुल बगाएको छ । अविरल वर्षाका कारण बरन्जा–४ नैदीखोलामा बिहीबार राति आएको बाढीले करिब २५ मिटर लामो झोलुङ्गे पुल बगाएको छ भने बरन्जा–८ र ९ नम्बर वडाको सिमाना न्युखोलामा रहेको पुल पनि बाढीले बगाएको छ । चार दिनदेखिको लगातारको वर्षासँगै खोलामा आएको बाढीले बिहीबार साँझ न्युखोलामा रहेको काठेपुल बगाएको हो । पुल बगाउँदा ८ र ९ नम्बर वडामा पर्ने दुर्दी, बुकेनी, धापुङ र महेश गाउँका बासिन्दाको आवतजावत प्रभावित भएको स्थानीय प्रेम पुनले जानकारी दिए । पुल बगाउँदा स्कुल बालबालिकालाई विद्यालय जानबाट वञ्चित भएका छन् । बरन्जाका साथै भकिम्ली र बागलुङको अर्गल हिल, ताराखोलाका बासिन्दालाई पनि पुल बगाएपछि आवतजावत गर्न समस्या भएको छ । त्यसैगरी नैदीखोलामा आएको बाढीले पुल झोलुङ्गे पुल बगाएपछि गाउँलेका साथै स्थानीय महेन्द्ररत्न उमाविमा अध्ययन गर्न आउने विद्यार्थी समस्यामा परेका स्थानीय शिक्षक कुलबहादुर थापाले जानकारी दिए ।
पहिरोका कारण विद्यालय भवन भत्किएपछि पढाइ बन्द
पहिरोका कारण जाजरकोटमा तीनवटा विद्यालय भवन भत्किएका छन् । जिल्लाका उत्तरपूर्वी क्षेत्रमा रहेका ढिमे, सक्ला, डाँडागाउँ गाविसका रहेका दीपेन्द्र माध्यमिक विद्यालय सक्ला, नेरा प्राथमिक डाँडागाउँ चिउरी र दुर्गा प्राथमिक विद्यालय नारे ढिमेको विद्यालय भवण पूर्ण रुपमा पहिरोका कारण भत्किएका हुन् । भत्किएका विद्यालयमा च्यापिएका सामग्री नियमित पानी परेका कारण निकाल्न नपाएको दुर्गा प्राविका शिक्षक दलबहादुर शाहीले बताए । विद्यालय भवन भत्किएपछि विद्यार्थीको नियमित पठनपाठनसमेत अवरुद्ध भएको छ । खोलानालामा पानीको बहाव बढिरहेका कारण जिल्लाका अधिकांश विद्यालय बन्द भएका शिक्षकले बताएका छन् । खोलानाला बढेका कारण डरले आफ्ना छोराछोरीलाई विद्यालय अभिभावकले पठाउन नमानेको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।
लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो जान थाल्यो
लगातारको वर्षाले ठाउँ–ठाउँमा पहिरो जान थालेपछि जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । तीनदिनदेखि लगातार परेको वर्षाले ठूलो मात्रामा क्षति गर्न थालेपछि सम्भावित दुर्घटनाबाट जोगाउन दुर्घटनाग्रस्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो । जिल्लाको फेदी, पाथेका, बास्पानी, खार्मी लगायत पहिरोको उच्च जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिए । उनका अनुसार पहिरोका कारण विस्थापित बनेका फेदी–२ को ६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । घर पहिरोको जोखिममा परेपछि स्थानीय लाखबहादुर राई, रत्नमणि राई, राममायाँ राई, कृष्णमणि राई, नेत्रमणि राई र टीका विश्वकर्माको परिवारलाई गाविसको भवनमा सारिएको हो ।

उनीहरुलाई सदरमुकाम दिक्तेलबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । पहिरोले घर तान्न थालेपछि बुधबार नै विस्थापित बनेका फेदी–५ का नौमणी दर्जी, रामबहादुर राई, ज्ञानबहादुर सार्की, हर्कबहादुर दर्जी र मायाँ राईको परिवारलाई पनि स्थानीय पत्करु निमाविको भवनमा सारिएको छ । माथिबाट झरेको पहिरोले बुधबार फेदी–३ का ३५ वर्षीय अष्टकुमार राईको ज्यान गएको थियो । स्थानीय पञ्चमी–छमुवा लघुजलविद्युत् आयोजनाका प्राविधिक राईको सोही विद्युत् पावरहाउसमा सुतिरहेको अवस्थामा ज्यान गएको हो ।यस्तै माथिबाट खसेको पहिरोका कारण बाँस्पानी–१ का हरिबहादुर खड्का, विन्दा खड्का, सूर्यबहादुर खड्का, जयबहादुर खड्का र अमिनबहादुर राईको परिवार बिस्थापित बनेका गाविससचिव रामबहादुर बस्नेतले जानकारी दिनुभयो । उनीहरुलाई गाविसको भवनमा राखिएको छ । पहिरोले घर भत्किएपछि दोर्पाचिउरीडाँडा–७ का चन्द्रबहादुर राई र धननारायण प्रधानको परिवार विस्थापित बनेको प्रशासनले जनाएको छ । उनीहरु आफन्तकामा आश्रय लिएर बसिरहेका छन् ।

यसैबीच पहिरोले घर किच्दा गम्भीर घाइते बनेकी जालपा–४ की ४५ वर्षीया असारी विश्वकर्माको उपचारका लागि आर्थिक अभाव भएको छ । पहिरोले घर किच्दा दाहिने खुट्टा भाँचिनुका साथै टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेकी विश्वकर्माको स्थानीय जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यत्र लैजान आर्थिक अभाव भएको हो । घरमै बसिरहेको अवस्थामा बिहीबार दिउँसो भत्किएको घरले किचिएकी विश्वकर्माको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पहिरोले किचिएकी विश्वकर्मालाई थप उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर बन्दोबस्त गरिए पनि मौसमका कारण आउन नसकेको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ ।
उनले भने–“गृहमन्त्रालयमा खबर गरेर हेलिकोप्टर त तयार गरियो, तर मौसमका आउन सकेन ।” प्रशासनको पहलमा ल्याउन खोजिएको हेलिकोप्टरसमेत आउन नसकेपछि विश्वकर्माको अवस्था झनै गम्भीर बन्दै गएको स्थानीय विकास राईले बताए । उनले भने, “यो बेला सबैले सहयोग गर्ने अवस्था आएको छ ।”

गाउँमा पानी पस्न थालेपछि स्थानीयबासी त्रसित
अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौरका विभिन्न वडा र सरकारी कार्यालयहरुमा बाढीको पानी पस्न थालेको छ । सदरमुकाम गौरको वडा नं. ३,४,६,७,९ लगायत वडाहरुका साथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट र गौर भन्सार कार्यालय लगायत स्थानीयको घरमा पनि पानी पस्न थालेपछि स्थानियवासीहरु त्रसित भएका छन् । जिल्लाको धर्मपुर, देवाही गोनाही, बनजरहा, बडहर्वाको पासवानटोल, बह्मपुरी लगायतका ठाउँमा अत्यधिक पानीको प्रभाव रहेको भएता पनि कुनै किसिमको मानविय क्षति नभने नभएको प्रहरी प्रवक्ता भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

सदरमुकाम गौर बाढीको चपेटामा पर्ने अंशका भए पछि स्थानियहरु आ आफ्ना घरमा भएका समानहरु सुरक्षित स्थानतर्फ राख्न थालेको कारण गौर सुनसान देखिएको छ । जिल्लाको धर्मपुरको वडा नं.६,७,८,९ का वडाहरुमा चारैतिर बाढीले घेरे पछि त्यहाका बासीन्दाहरु निस्किन पाउन सकिरहेका छैनन् ।
उद्दारका लागि पथ्लैयाबाट गएको मोटरबोट लगायतका उदारसामग्रीहरु घटनास्थलमा पुगेता पनि हाल उदारकार्य सुरु भइसकेको प्रहरीले जानकारी गराएको छ । जिल्लामा रहेको बागमति सिचाई आयोजनाले समयमा बाधको मर्मत तथा निगरानिकार्य नगरेकोले बागमतिको बाँध ठाउँ–ठाउँमा भत्किएको स्थानीयहरुले बताएका छन् । त्यस्तै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुर बाराको जिम्मा रहेको लालबकैया नदीको बाँध समेत समयमा मर्मत नगरेको र जिल्लाको करौडौं बजेट विनाकारण खर्चिने गरेको स्थानियहरुको आरोप रहेको छ ।

सप्तकोसीमा खतराको सङ्केत
पूर्वी क्षेत्रका पहाडमा दुई दिनदेखि भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा आज यस वर्षकै सवैभन्दा बढी पानी मापन गरिएको छ । सो नदीमा गए रातिदेखि नै पानीको जलस्तरमा वृद्धि हुँदै गइरहेको कारण आज अपराह्न ४ बजेसम्ममा प्रतिसेकेन्ड तीन लाख छ हजार ४३० क्युसेक पानीको प्रवाह रहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । बिहान दुई लाख ५१ हजार क्युसेक प्रतिसेकेन्ड पानीको मापन अभिलेख गरिएकामा मध्याह्न दुई लाख ५५ हजार र अपराह्न दुई लाख ८४ हजार क्यूसेक थियो ।
सप्तकोसीमा एक लाख पचास हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव देखिनासाथ कोसी ब्यारेजले खतराको सङ्केतका रुपमा रातो बत्ती बाल्छ । कोसीमा पानीको बहावमा निरन्तर रुपमा वृद्धि भइरहेका कारण कोसी क्षेत्रका सर्वसाधारण बासिन्दा भयभीत हुन थालेका छन् ।रातोपाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस