कर्मचारीका शिशुलाई दूध चुसाउनै गाह्रो ! यस्तो छ नेपालमा स्तनपानको हालत
२० साउन, काठमाडौं । घरमा सानो बच्चा छाडेर कार्यालयमा काम गर्न जाने महिला कर्मचारीले आफ्नो बच्चालाई कसरी नियमित स्तनपान गराउन सक्छिन् ? सानो शिशुलाई कार्यालयमै ल्याएर टेबलमा राख्नु स्वास्थ्य र काम दुबै दृष्टिकोणले सम्भव हुँदैन । विश्वभर स्तनपान दिवस मनाइरहँदा नेपालमा भने ७० प्रतिशत महिलाले मात्रै ६ महिनासम्म आफ्नो शिशुलाई स्तनपान गराउने सुविधान पाउने गरेको तथ्यांक पाइएको छ । दिउँसो कार्यालयको काममा जाने आमाहरुका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको छ ।
महिला कर्मचारीले दुई महिना सुत्केरी विदा पाउने गरेका छन् । तर, बच्चालाई ६ महिनाभन्दा बढी आमाको दूध नियमित चुसाउनुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्तो अवस्थामा कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न, धाई आमाको व्यवस्था गर्न र बेलाबखत महिला कर्मचारीले त्यहाँ गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज उठ्ने गरेको छ ।
तर, नेपाल सरकारले यस्तो प्रवन्ध गर्न नसक्दा स्तनपानको सुविधाबाट कर्मचारीका शिशुहरुले बञ्चित हुनुपरेको छ ।सरकारले विदेशबाट समेत सहयोग लिएर स्तनपानसम्बन्धी सचेतना अभियान चलाइरहँदा अझै पनि ३० प्रतिशत महिलाले आफ्ना बच्चालाई ६ महिना पनि स्तनपान गराउँदैनन् ।सन् १९९२ बाट प्रत्येक अगष्ट १ तारिखबाट ७ तारिखसम्म स्तनपान दिवस मनाउने गरिएको छ । यो दिवसमा विविध चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिन्छ ।
स्तनपानले सुन्दरता घटाउने भ्रम
पछिल्लो समयमा कतिपय महिलाहरु स्तनपान गराउँदा सुन्दरता घट्ने भ्रममा पर्ने गरेका छन् । बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खुवाइएका नानीहरु स्वस्थ, स्फूर्त र चलाख हुने कुरा चिकित्सा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । शिशुलाई नियमित दूध खुवाउँदा आमाको सौन्दर्यमा कुनै ह्रास नआउने परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. किरण रेग्मी बताउँछिन् । ‘शिशुलाई नियमित स्तनपान गराउँदा सुत्केरी महिला चाँडो तंगि्रएर गर्भवती हुनुभन्दा अघिकै शारीरिक अवस्थामा र्फकन्छन्’, डा. रेग्मीले अनलाइनखबरसँग भनिन्, ‘स्तनपानले सुत्केरी भएपछि हुने पाठेघर र स्तन क्यान्सरको खतरा समेत कम गर्छ ।’
पोषण विज्ञहरुले शिशुको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पौष्टिकतत्व आमाको दूधमा मात्र पाइने बताएका छन् । नियमित स्तनपानले आमा बच्चा दुबैलाई लाग्न सक्ने रोगबाट बचाउन सक्ने उनीहरुको भनाइ छ । शहरिया तथा व्यस्त दैनिकी बिताउने महिलाले नियमित स्तनपान गराउन छोड्नु गलत भएको चिकित्सहरु बताउँछन् । शिशु जन्मिएलगत्तै आमाको दूध चुसाएमा सालनाल तत्काल र्झने तथा धेरै दूध आउने चिकित्सकहरुको भनाइ छ । शिशुलाई नियमित दूध चुसाउने महिलामा सुत्केरी भएको ६ महिनासम्म करिब ९८ प्रतिशत गर्भनिरोधको काम गर्ने बताइन्छ ।
‘६ महिनासम्म आमाका दूध नै बच्चाका लागि पर्याप्त हुन्छ, अन्न खुवाउनको जरुरी पर्दैन’, परिवार स्वास्थ्य महाशाखाकी डा. शिलु अर्यालले भनिन्, ‘दूध खुवाउँदा महिलाको सुन्दरतामा कुनै कमी आउँदैन, अझ आमा र बच्चा दुबै स्वस्थ हुन्छन् ।’ चिकित्सकहरुले शिशु जन्मेको केही दिनमै अन्न खुवाउनु हानिकारक हुने बताएका छन् । आमाको दूधको विकल्पक गाई भैंसीको दूध हुनै नसक्ने उनीहरुको भनाइ छ । आमाको एक लिटर दूधमा ११ ग्राम प्रोटिन हुन्छ भने गाई भैंसीको दूधमा ३३ ग्राम हुन्छ । आवश्यक भन्दा बढी प्रोटिन बच्चाले पचाउन नसक्दा यसको असर तत्काल देखिन्छ र बच्चा विरामी पर्छन् ।
पश्चिमाहरुको तुलनामा नेपालमा स्तनपान गराउने राम्रो परम्परा छ । तर, पछिल्लो समय शिक्षित महिलाहरुले नै शिशुलाई स्तनपान गराउन छाडेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठनले एक घण्टाभित्र स्तनपान गराइसक्नुपर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनको एक सर्भेले शिक्षाको तह बढ्दै जाँदा स्तनपानको गुणस्त र स्तनपान गराउने आमाहरुको संख्या भने घट्दै गरेको पाइएको छ ।
यस्तो छ नेपालको तथ्यांक
प्राथमिक शिक्षामात्र लिएका ६६ प्रतिशत महिलाले ६ महिनासम्मका शिशुलाई नियमित स्तनपान गरएका छन् । अर्कातिर एसएलसी उत्तीर्ण गरेका ३३ प्रतिशत महिलाले मात्र शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउने गरेको पाइएको छ ।नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण ०११ को तथ्यांकअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ४५ प्रतिशत रहेको छ ।
शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउने महिला ८५ रहेका छन् । शिशुलाई एक महिनासम्म स्तनपान गराउने महिला ८८ प्रतिशत रहेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । ३ महिनासम्म स्तनपान गराउने महिला ७४ प्रतिशत मात्र छन् । त्यसैगरी शिशु जन्मेको ६ महिनासम्म स्तनपान गराउने महिलाको संख्या ७० प्रतिशत मात्र रहेको छ । बाँकी ३० प्रशितले शिशु ६ महिना पुगेपछि स्तनपान गराउन छोड्ने गरेका छन् ।Online Khabar अनलाइनखबर डटकमबाट

