कारागारमा झडप ७ जना घाइते

 पोखरा, श्रावण २१ - पर्वत जिल्ला कारागारमा रहेका कैदी बन्दीबिच मंगलबार राति झडप हुँदा ७ जना घाइते भएका छन् ।


घाइतेमा रत्न न्यौपाने, अमृत न्यौपाने, आनन्द केसी, लिला पुन, ज्ञानबहादुर पाईजा, लिला गर्बुजा र बिक्रम सुबेदी छन । घाइतेमध्ये आनन्द, लिला र रत्नको अवस्था गम्भिर भएपछि थप उपचारका लागि पोखरा ल्याईएको छ । घाइते प्रेमबहादुर तामाङका अनुसार कैदीका नाईके र चौकीदारले कारागारभित्रै मदिरापान गरेर हो हल्ला सुरु गरेपछि त्यसले झगडको रुप लिएको हो ।  उनका अनुसार कारागारभित्रै विभिन्न माध्यमबाट लागुऔषधको कारोबार तथा सेबन हुने गरेको छ ।

पर्वतका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले कारागारमा दुई पक्षबीच भिडन्त भएको बताए । घटनाको छानविनकालागि सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईको संयोजकत्वमा एक समिति गठन गरिएको ज्ञवालीले टेलिफोनमा बताए ।

घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । झडपका क्रममा एक अर्कालाई हान्न कुर्ची, प्रेसर कुकरलगायतको प्रयोग भएको थियो । खाना खाएर सुत्न लागेको अवस्थामा एक्कासी होहल्ला सुनेर ड्यूटीमा खटिएका प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी स्रोतका अनुसार कैदीका नाईके आनन्द केसी र चौकीदार ज्ञानबहादुर पाइजाबिचको व्यक्तिगत रिसईवीका कारण घटना भएको हो समाचार इकान्तिपुर डटकममा प्रकाशित छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस