मोदीलाई माला लगाइदिने बालिका सुरक्षा नियन्त्रणमा
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै सुरक्षा घेरा पार गरेर फूलको माला पहिर्याउने एउटी बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलासा भएको छ। विमानस्थलबाट कडा र व्यवस्थित सुरक्षाका बीच मोदीलाई बौद्धस्थित हायात रिजेन्सी होटेल लगिएको थियो।
नेपाल प्रहरीको बाहिरी सुरक्षा घेरा र त्यसपछि नेपाली सेनाको भित्री सुरक्षा घेरा, भारतीय निजी सुरक्षा अंगरक्षकको घेरा हुँदाहुँदै सातआठ वर्षकी ती बालिका हातमा माला लिएर मोदीतर्फ दौडिएकी थिइन्। उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ती बालिकालाई रोक्न खोजेको थियो। सेनाले रोक्दारोक्दै सवारी मन्त्रीको काम गरिरहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ती बालिकालाई बोकेर मोदीतर्फ लगे। मन्त्रीले नै बोकेपछि सुरक्षाकर्मी पछि हटेका थिए।
मन्त्रीले बोकेकै अवस्थामा ती बालिकाले मोदीलाई माला लगाइदिएकी थिइन् त्यतिबेला मोदी लबीबाट आफ्ना लागि निर्धारण गरिएको कक्षतिर जाँदै थिए। सुरक्षास्रोतका अनुसार फूलमाला बोकेकी बच्ची मन्त्रीसँग देखेपछि मोदीले रोकिएर 'आइए आइए' भनेका थिए। त्यसपछि सुरक्षाकर्मीले अतिविशिष्ट पाहुनाको कार्यक्रम हेरे, कतै पनि होटेलको लबीमा बालिकाद्वारा माला लगाइदिने कार्यक्रम तय थिएन। त्यसपछि सुरक्षाकर्मीले ती बालिकालाई केही समयसम्म नियन्त्रणमा लिएको थियो।
'निर्धारित कार्यक्रमभन्दा पृथक् काम भएपछि बालिका को हुन् र उनी त्यहाँसम्म कसरी पुगिन् भन्नेबारे चासो स्वाभाविक हो', नेपाल प्रहरीका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, 'प्रहरी घेराभन्दाभित्रको विषय भए पनि विशिष्ट व्यक्तिको सुरक्षाको कुरा भएकाले केही सोधपुछ भएको हो।'
भारतीय दूतावासभित्रै रहेको केन्द्रीय विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी ती बालिका रजनी शर्मा थिइन्। सुरक्षाकर्मीको सोधपुछका क्रममा उनले अनमोल क्याटरिङका मालिक बीएल शर्माकी नातिनी भएको बताएकी थिइन्।
उनका नातेदार हायात होटेलको व्यवस्थापनको तहमा काम गर्ने भएकाले उनलाई लबीसम्म पुग्ने वातावरण बनेको सुरक्षाकर्मीको निष्कर्ष छ। होटेल प्रवेशमा धेरै कडाइ गरेकाले जो पायो त्यही पुग्न सक्ने अवस्था नआए पनि उनी अचानक मालासहित देखापर्नु र बिना कुनै पूर्वनिर्धारित कार्यक्रम मन्त्रीले नै बोकेर माला लगाइदिने अवस्था आउनुलाई सुरक्षा निकायहरूले स्वाभाविक मानेका छैनन्।
उनको बयानपछि बालिका शर्मा आफ्नो निश्चल मनका साथ त्यहाँ पुगेकाले सुरक्षामा कुनै समस्या महसुस नभएको निष्कर्षमा पुगेपछि सुरक्षाकर्मीले उनलाई अभिभावकलाई जिम्मा लगाएका थिए। बालिका शर्माले मोदीको अटोग्राफ लिनसमेत भ्याइन्।
उनले बोकेको सानो नोट प्याडमा मोदीले आफ्नो नाम र टेलिफोन नम्बरसहित हस्ताक्षर गरिदिएका थिए। होटेल पस्दापस्दैको यो घटनापछिमात्र मोदीले आफ्ना नेपाली धर्मपुत्र जितबहादुर सारुमगरको परिवारका सदस्यसँग भेट गरेका थिए। अन्नपूर्ण पोस्टमा छापिएको छ ।

