डोकोमा दुध बोकेरै टन्नै आम्दानी
भोजपुर , साउन २३– भोजपुर नगरपालीका बोखिम ७ का ३५ बर्षिय हेम चन्द्र खत्रीको दैनीकी विहानै उठ्नु, दुध दुहुनु, र अन्य किसानहरुको दुध संकलन गर्दै डोकोमा दुध बोकेर सदरमुकाम आउनु रहेको छ । उनी विहान ६ बजे बोखिमबाट दुध बोकेर सदरमुकाम तिर लाउछन । खत्री सदरमुकाम आँउदा ७ बजेर ३० मिनेट गएको हुन्छ् ।
उनले डोकोमा बोकेर ल्याएको दुध सदरमुकाममा संचालीत भोजपुर दुग्ध उद्योगमा पुर्याउने गर्छन । खत्रीले बोखिम ५ र ७ का सबै पशुपालक किसानहरुको दुध सदरमुकाममा ल्याउने गरेको ३ बर्ष वितिसकेको छ । खत्रीले डोकोमा दुध बोकेरै ६ जनाको परिवार धानेका छन् । करिव ३ बर्ष अघि वैदेशीक रोजगारीका लागि विदेशीन खोजेको खत्री स्वास्थ्य परिक्षण गर्दा स्वास्थ्य समस्या देखिए पछि गाँउमा उत्पादन भएको दुध सदरमुकाम सम्म ल्याउने काम गर्न थालेको बताउछन् ।
“विदेश जाने सोच बनाएर राहदानी बनाए, मेनपावर कम्पनीमार्फत राहदानी पेशे अन्तीममा गएर स्वास्थ्य परिक्षण गर्दा फेल भएर गाँउ फर्किएर दुध बोक्ने काम गर्न थालेको हुँ ।” खत्रीले भने “दुध बोकेर मैले घरपरिवार धानेको छु, मेहनत गर्छु, मेहनत गरेवापत मासिक १० हजार कमाउँछु अहिले म सन्तुष्ट छु ।” गाँउबाट सदरमुकाम सम्म दुध ल्याउनका लागि यातायातको सुविधा नभएकाले डोकोमा दुध बोकेर आउनु उनको बाध्यता हो ।
“प्लास्टिकका बट्टा, ग्यालिनमा हालेर ४० लिटर दुध डोकोमा बोक्ने गरेको छु ।” उनले भने । आफ्नै घरमा उत्पादन भएको दुध बाहेक अन्य किसानहरुको दुध बोके बापत उहाँले प्रतिलिटर १० रुपैंया लिने गरेको छन । सदरमुकामको दुग्घ उद्योगले भने प्रति लिटर ५५ रुपैंयाका दरले दुध लिने गरेको खत्रीले बताए रातोपाटीमा प्रकाशित खबर छ ।

