अब रोजगारीका लागि विदेशमा भौतारिनु नपर्ने
आबुधावी,असोज ४ – प्रधानमन्त्री सुशील कोइरालाले रोजगारीका लागि विदेशमा भौतारिनु पर्ने बाध्यताबाट नेपालीले छिट्टै मुक्ति पाउने दाबी गरेका छन् । प्रधानमन्त्री कोइरालाले नेपालले अब विकासमा गति लिने जिकिर गर्दै युएइलगायत देशमा रोजगारीका लागि आएका नेपालीले अब मरुभुमिको तातो हावा खानु नपर्ने बताए ।
‘अब युएइलगायत देशमा रोजगार लागि आएका नेपालीहरु छिट्टै आफ्नै देश नेपाल फर्कनेछन्,’ संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन अमेरिकाको भ्रमणमा जाने क्रममा शुक्रबार राति अबुधाबी पुगेका प्रधानमन्त्री कोइरालाले भने,‘अब नेपालले छिट्टै किवासको गति लिने भएकाले युएइलगायत देशमा काम गर्न आएका नेपाली अब छिट्टै नेपाल फर्किने वातावरण बन्नेछ । युएइमा मात्रै झन्डै चार लाख नेपाली कार्यरत छन् । आबुधाबी पुगेका प्रधानमन्त्री कोइरालालाई आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत धनञ्जय झाले स्वागत गरेका थिए ।
आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री कोइरालालाई नेपाली राजदूतावासका कर्मचारी, युएइमा कार्यरत नेपाली जन सम्पर्क समितिका अध्यक्ष चित्र केसी र कोषाध्यक्ष दीपक भट्टसहितको प्रतिनिधिमण्डलले स्वागत गरेको थियो । प्रधानमन्त्री कोइरालाले राजदूत झासँग राजदूतावासको अवस्था र संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरूको अवस्थाको बारेमा चासो व्यक्त गरेका थिए ।रातोपाटी

