ज्ञानेन्द्रलाई हृदयघात भएपछि कमल थापा चिन्तित
विदेश भ्रमण छोट्याएर स्वदेश फकिएने तयारी, नेताहरु अस्पतालमा
काठमाडौं, असोज ५– पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएपछि संवैधानिक राजतन्त्र र हिन्दुराज्यको वकालग गर्दै आएको राप्रपा नेपाल चिन्तित बनेको छ ।
संवैधानिक राजतन्त्र र हिन्दुत्वको धरोहर मानिने पूर्वराजालाई नै हृदयघात भएपछि राप्रपा नेपालसहित सो प्रति आस्था राख्नेहरु चिन्तित बनेका हुन् । हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालको आइसीयुमा राखिएका पूर्वराजाको स्वास्थ्य अवस्था बुझ्न आज बिहानैदेखि राप्रपा नेपालका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको अस्पताल परिसरमा भीड लागेको छ । यसैगरी हाल विदेश भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्–ज्ञानेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
एसियाली मुलुकका राजनीतिक पार्टी –आइक्याप) को आठौँ महासभामा सहभागी हुनका लागि श्रीलंका पुगेका उनी त्यहाँबाट जनवर्गीय संगठनको कार्यक्रममा सहभागी हुन केहि दिन भारतको नयाँदिल्लीमा समेत बस्ने कार्यक्रम तय थियो । तर, सबै कार्यक्रमलाई स्थगित गर्दै थापा स्वदेश फर्कन लागेको प्रचार विभाग सचिव बासु दाहालले बताए । यसैगरी राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले पूर्वराजालाई हृदयघात हुनु दुःखद भएको भन्दै स्वास्थ्य लाभको कामना गरे ।
उपचाररत शाहको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई आइसियुमा राखेर उपचार जारी राखिएको र अहिले अवस्था खतरामुक्त रहेको वरिष्ठ मुटु रोग विशेषज्ञ डा भारत रावतले जानकारी दिए । शनिबार दिउँसो निवासमै रहेका बेला एक्कासी मुर्छा परेपछि उनलाई सहयोगीहरुले नर्भिक लगेका थिए । अस्पताल लगिएलगत्तै डा रावत र यादवदेब भट्टसहितको टोलीले एन्जिओ प्लाष्ट गरेर मुटुका स्टोन प्रत्यारोपण गरी बन्द भएको भल्भ खुलाइएको थियो । रातोपाटी


