राप्रपा नेपालको पार्टी कार्यालय प्राधिकरणले लाइन काटिदिएपछि

काठमाडौं, असोज ९– नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएपछि राप्रपा नेपालको धुम्बाराईस्थित पार्टी कार्यालयमा विद्युत सेवा बन्द भएको छ । केहि महिना अघिमात्रै निष्कासनमा परेका केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले दान दिएको जग्गामा अवस्थित कार्यालयको विद्युत लाईन काटिएपछि अहिले पार्टी कार्यालय अन्धबार बनेको छ । राप्रपा नेपाल निकट विभिन्न स्रोतका अनुसार नियम विपरित जडान गरिएको विजुली पछिल्लो समय प्राधिकरणले काटिदिएको हो ।

 स्रोत भन्छ– हाइटेन्सन लाइनमुनिको पार्टी कार्यालय भएको जग्गा दिलविकासको आफन्तको नाममा भएपनि केहि भाग सार्वजनिक जग्गासमेत मिचेर निर्माण गरिएको छ । जग्गाको जालझेल तरिकाले नक्सा पास गरिएको तथा विद्युत जोड्दा पनि नियमसंगत ढंगले नगरी पार्टी अध्यक्ष कमल थापाको शक्तिको आडमा जडान गरिएको तर पछिल्लो पटक प्राधिकरण उच्च स्रोतले थाहा पाएर लाइन काटिदिएको हो ।

स्रोतका अनुसार झण्डै ५ दिन यता पार्टी कार्यालय अन्धकार रहेको छ । कार्यालयमा विद्युत आपूर्ति बन्द हुँदा दैनिक काम कारबाहीहरु समेत प्रभावित हुँदै आएको छ । अहिले अत्यावस्थक कामहरु कमल थापाको घरमा रहेको एउटा जेनेटर कार्यालयमा लगेर त्यसै मार्फत गर्ने गरिएको बताइन्छ । ‘कार्यालयमा इन्र्भटर पनि रहेका छन्, तर विजुली नै नभएपछि त्यसले पनि काम गर्ने अवस्था रहेन’, स्रोत भन्छ, ‘अहिले अत्यावस्यक काम प्रभावित हुन नदिनको लागि अध्यक्षको घरमा रहेको जेनेटर कार्यालयमा ल्याएर राखिएको छ । हुन त प्रधिकरणले लाइन काटिदिएपछि छिमेकीमार्फत लाइन तान्ने प्रयास पनि नगरिएको होइन तर, कांग्रेस र एमाले निकटकाको बाहुल्य रहेको छिमेकीहरुले विद्युत दिन अस्विकार गरेको स्रोत बताउँछ ।

केहि स्थानीयले दिनै खोजेपछि सोहि स्थानमा बसोबास गर्ने कांग्रेसका उदयपुर सभापति विदुर बस्नेतले कुनै पनि हालतमा नदिन स्थानीयलाई दवाव दिएपछि कार्यालयमा विद्युत छिमेकीबाट लैजाने योजना असफल भएको हो । लाइन काटिएसँगै अब कसरी विद्युत जडान गर्ने भन्ने विषयमा अन्यौल भएको छ । हाइटेन्सन लाइनमुनि भवन निर्माण गर्ने नमिल्ने भएपनि त्यसको व्यवस्थापन म गर्छु भन्दै कमल थापाले दिलविकासबाट दानमा पाएको जग्गामा पार्टी कार्यालय निर्माणमा लागेका थिए । त्यतिबेला कमल थापाले भनाई स्मरण गर्दै दिलबिकास भन्छन्– त्यतिबेलै मैले हाइटेन्सन मूनि भवन नबनाऔं, बनाउने नै भएदेखि म अन्तकै पनि जग्गा दिन्छु भनेको थिएँ, तर कमल थापाले यही ठीक छ म हाइटेन्सन जसरीपनि हटाउँछु भनेर हचुवाका भरमा भने । अहिले न हाइटेन्सन लाइन हटाउन सके बरु विभिन्न बहानामा विगतमा भएका बाचा पुरा नगरी एकलौटी ढंगले पार्टी सञ्चालनमा जुटे ।

 पार्टी कार्यालय स्रोतका अनुसार हाइटेन्सनलाइन मुनिको भवन भएका कारण कार्यलय भित्र रहनेले समेत असहज महसुस गर्ने गरेका छन् । टाउको दुख्ने तथा असहज लाग्ने, मोबाइलको नेटवर्कमा समस्या देखिने लगायतका समस्या देखिने गरेको कार्यालय निकट स्रोतको भनाई छ । स्वयम् कमल थापा समेत अहिले कार्यलय उपयुक्त नभएको भन्न थालेका छन् । ‘यहाँ आउने वित्तिकै मेरो दिमागै तातेर आउँछ , कस्तो ठाउँमा कार्यालय बनाइएछ’ भन्दै थापाले निकटहरुसँग भन्न थालेको स्रोत बताउँछ ।

अझ पार्टी कार्यालय भित्रै कारबाहीमा परेका दिलविकासको श्रीमति शशिकला राजभण्डारीको बडेमानको शालिक देखेपछि त झन् कमल थापा ‘कस्ताको शालीक हेर्नुपर्यो’ भन्दै एकातिर लाग्ने गरेका छन् । अर्को रोचक त के छ भने दिलविकासले जग्गा दिएसँग पार्टी कार्यालय उद्घाटनका क्रममा थापाले ‘पार्टीलाई जग्गा दिने दिलका राजा दिलविकास’ भन्दै दिलविकासको प्रशंशा गरेका थिए । पार्टी  कार्यालय दुर्गन्धित यता केहि दिन पहिले पानी पसेर जलमग्न भएको कार्यालय दुर्गन्धित बन्न पुगेको बताइएको छ ।

गत असोज ३ गते राती परेको अबिरल वर्षासँगै पानी पसेर जलमग्न बनेको पार्टी कार्यालय नसुकेपछि गन्हाउन थालेको हो । स्रोतका अनुसार पानीले भिजेका बहुमूल्य गलैंचासहितका सामानहरु नसुकेको र विद्युतिय माध्यमबाट सुकाउन विजुली पनि नभएपछि कार्यालय गन्हाउन थालेको हो । पानी पसेर अध्यक्ष कमल थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष उद्धव पौडेलको कार्याकक्षमा बढी क्षति पुगेको थियो भने कार्यलयभित्र रहेका कागजपत्र तथा सामानहरु भिजेका थिए । यसैबीच बालुवाटारमा रहेको पुरानो पार्टी कार्यालय पनि बन्द भएको छ । घरपेटी किशोर सिलवालले घर बेचेपछि सो कार्यालय बन्द भएको हो । भाडा तिर्न नपर्ने सो कार्यालय जनवर्गीय संगठन तथा काठमाडौं जिल्ला समितिले उपयोग गर्दै आएको थियो । - रातोपाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस