नेपाललाई हिन्दु राज्य बनाउन महायज्ञ शुरू
धनगढी, असोज २८ – नेपाललाई हिन्दु राज्य बनाउन दबाब दिने उद्देश्यले कैलालीको पहलमानपुरमा सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । सोमबारबाट सुरु भएको महायज्ञको शुभारम्भका अवसरमा वक्ताहरूले नेपाललाई हिन्दु राज्य बनाउन माग गरेका छन् ।
नेपालका अग्रणी व्यवसायी कुमार थापाले नेपाल हिन्दुत्वको माटो र ढुङ्गाले बनेको देश भएको उल्लेख गर्दै नयाँ संविधानमा नेपाल हिन्दु राष्ट्र बन्ने विश्वास व्यक्त गरे । गौ हत्याको विरोधमा विगतमा ६ महिनासम्म अनशन बस्नुभएका सन्त श्री निवास आचार्यले गौ हत्या गर्नेलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरे ।
समारोहमा लक्ष्मीनारायण मन्दिर धनगढीका स्वामी १००८ देवराज आचार्यले विश्वमै हिन्दुत्वको पहिचान बोकेको देश नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु दुःखद् भएको बताए ।
आयोजक वैदिक सनातन हिन्दु राष्ट्र संस्थागत संयुक्त सङ्घर्ष समितिका संयोजक सिद्धराज खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाई छाड्ने दृढता व्यक्त गरे । महायज्ञमा स्वामी १००८ परमानन्दशरण जी महाराजले भागवत् वाचन गरिरहेका छन् । यसअघि स्थानीय भक्तजन एवम् व्यापारी, छात्रछात्रा र सर्वसाधारणले भव्य कलस यात्रा गरेका थिए । रातोपाटी

