यस्तो खेल जसमा सबै विजेता हुन्छन्

रत्ननगर (चितवन), कात्तिक १५ – बौद्धिक अपाङ्गता भएकी मालती ज्ञवालीले सन् १९९९ मा अमेरिकामा भएको विश्व स्पेसल ओलम्पिकमा २०० मिटर दौडतर्फ स्वर्ण पदक जितिन् । उनीसँगै नेपालमा तीनजनाले सो समयमा स्वर्ण हात पारेका थिए । चितवनका बौद्धिक अपाङ्ग रवीन गुरुङले सन् २००४ जनवरीमा भएको न्यू क्यासल एसिया प्यासिफिकमा नेपाललाई स्वर्ण दिलाए ।

अन्य फुटबल, क्रिकेटलगायतका खेलमा छिटफुटबाहेक साङ्गहरुले महत्वपूर्ण उपाधि हात लगाउन नसकेका बेला यी बौद्धिक अपाङ्गता भएकाहरुले हरेक इभेन्टमा कुनै न कुनै उपाधि हात पारेका छन् । यस्ता धेरै बौद्धिक अपाङ्ग खेलाडीहरुले विश्वमा नेपालको नाम राखेका छन् । “हौसला चाहिन्छ, नियमित अभ्यास चाहिन्छ, जितिन्छ,” मालतीले भनिन्, “अहिलेका खेलाडीले पनि अमेरिकामा हुने खेलमा जित्छन् भन्ने आशा छ ।”

भक्तपुरकी खेलाडी सलिना पराजुलीले खेलेर आफूले देशको नाम राख्ने दाबी गरिन् । कुनै पनि खालको अपाङ्गता हुनु भनेको व्यक्ति स्वयम्को दोष नभइ शारीरिक र मानसिक अवस्था हो । अझ बौद्धिक अपाङ्गहरु ढिला बुझ्ने र राम्ररी गतिविधि गर्न नसक्ने हुन्छन् ।

उनीहरुलाई हौसला दिनसके उनीहरुको पनि जीवन सहज हुने स्पेसल ओलम्पिकका केन्द्रीय अध्यक्ष डा ज्योति गुरुङले बताए । बौद्धिक अपाङ्गहरुबीच खेलाइने उक्त खेलमा उनीहरुको मनोभावनामा ठेस नलागोस् भनेर सबैलाई विजयी बनाइन्छ । ‘सके विजयी हुन देउ नभए उनीहरुको प्रयासलाई सम्मान गर’ भन्ने उक्त खेलको नारा छ ।


सबै विजयी भए पनि सीमितलाई छनोट गर्ने खेलको नियम छ । चितवनमा शुक्रबारदेखि जारी बौद्धिक अपाङ्गता भएकाहरु बीचको खेलकुद प्रतियोगिता स्पेसल ओलम्पिक्सको आठौँ संस्करणबाट छनोट गराई सन् २०१५ मा अमेरिकामा हुने अन्तर्राष्ट्रिय स्पेसल ओलम्पिक्स खेलकुदमा सहभागी गराउने योजना छ । यसमा बाह्र जिल्लाबाट करिब २०० प्रतियोगी सहभागी छन् । उनीहरु ५०, १०० र २०० मिटर दौड, सर्टपुट थ्रो, सर्टबल थ्रो र लङजम्पमा विभिन्न चारवटा उमेर समूहमा सहभागी भएको स्पेसल ओलम्पिक्स चितवन च्याप्टरका अध्यक्ष पवनकुमार पियाले बताए ।

स्पेसल ओलम्पिक्स नेपालका अध्यक्ष डा. ज्योति शेर्चनले कोही पनि अपाङ्गता प्रभावित बालबालिकालाई हेला नगरी उनीहरुमा रहेको फरक क्षमतालाई प्रोत्साहन गर्नुपर्ने बताए । हरेक चार वर्षको अन्तरालमा यस्तो प्रतियोगिता हुन्छ । ५० मिटर दौडका विभिन्न उमेर समूहका इभेन्टका बाग्लुङकी रितु कँडेल, चितवनका छविलाल श्रेष्ठ, रुपन्देहीका विवेक यादव र चितवन माडीका निरज महतो विजयी भएका छन् । रासस - Ratopati

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस