बैंक लुट प्रकरणमा कर्मचारीको संलग्नता पुष्टि

५ मंसिर, रौतहट । गत मङ्गलबार रौतहटको चन्द्रपुरमा भएको बैंक लुटपाटको घटनामा आईडी बैंककै कर्मचारी संलग्न रहेको पुष्टी भएको छ ।बैंक लुटेर भाग्दै गर्दा पक्राउ परेका लुटेरामध्येका एक नारायण राईले प्रहरीलाई वीरगंजमा दिएको बयानअनुसार लुटपाटमा बैंक कर्मचारी शम्भू थापाको संलग्नता रहेको पुष्टी भएको हो


प्रहरीको गोलि लागेर घाइते भएका राईसँग शुक्रबार प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले पहिलोपटक बयान लिएका छन् । अभियुक्त राईले दिएको बयानअनुसार आईडी बैंकका कर्मचारी रिसेप्सनिस्ट शम्भु थापाले चन्द्रपुर १ का सुशील दुलाललाई फोन मार्फत बैंकमा रकम ल्याउन लागेको जानकारी दिएका थिए ।
एसबीआई बैंकबाट रकम झिकेर ल्याउने खबर पाएपछि लुटेराहरुले आईडी बैंकका गार्डलाई गोलि प्रहार गर्दै २० लाख लुटेका थिए ।

पक्राउ परेका लुटेराले बैंक कर्मचारी संलग्न रहेको पुष्टि गरेको प्रहरी नायब उपरिक्षक नेत्रमणी गिरीले बताए । अनुसन्धानका क्रममा हिरासतमा रहेका थापालाई शुक्रबार जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ । घटनाको मुख्य योजनाकार सुशील दुलाल भने अझै फरार छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मेन रोडमा रहेको नेपाल एसबीआई बैकबाट मंगलबार दिउँसो सवा १ बजे रकम झिकेर निस्केका आईडी बैकका गार्ड तेजबहादुर कार्कीलाई गोली हानी लुटेरा समुहले २० लाख रुपैयाँ लुटेको थियो ।

घटनाको ३ दिन बितिसक्दा पनि लुटिएको रकम र फरार ४ जना अझै पक्राउ पर्न सकेका छैनन् । प्रहरीले भने उनीहरुको खोजी कार्य तथा अनुसन्धान भइरहेको जनाएको छ ।अनलाइन खबरबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस